मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धरान उपमहानगर प्रमुखमा कांग्रेसका तिलक राई विजयी, नेकपाको किल्ला भत्कियो

धरान उपमहानगर प्रमुखमा कांग्रेसका तिलक राई विजयी, नेकपाको किल्ला भत्कियो


धरान । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका हुन् ।
 
सधैँ वामपन्थीले जित्ने धरानमा यसपटक राईले इतिहास रच्दै नेकपालाई धक्का लगाइदिएका छन् । धरान उपमहानगर वामपन्थीको किल्ला मानिँदै आएको छ । यसपटक कांग्रेसका तिलकले सो किल्ला भत्काइदिएका छन् । 
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए । तिलक राईले नेकपाका प्रकाशलाई दुई हजार ७९५ मतान्तरले पराजित गरेका हुन् । 
 
विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हारेका राईले यस उपनिर्वाचनमा बदलामा दुई हजार ७९५ मतान्तरमा विजयी भएका हुन् । 
 
विसं २०४७ पछिका हरेक निर्वाचनमा वामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले नयाँ इतिहास रचेको कांग्रेसका नगर नेता प्रेम पराजुलीले बताए । 
 
जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त सहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
२०७४ मंसिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उनले धरानका जनताको सहानुभूतिसमेत पाएका थिए ।
 
राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध रहँदै आएका छन् । पार्टीको नगरसचिव हुँदै १३औँ महाअधिवेशनपछि उनी धरान नगर सभापतिसमेत बनेका थिए ।