विचार / ब्लग

उप-निर्वाचन: ‘हामी यस्तै त हो नि ब्रो‘

280 पटक पढिएको

– शैलेश श्रेष्ठ

30th Nov 2019, Saturday | २०७६ मंसिर १४, शनिबार २१:०३
लोकतन्त्र र बहुदलवादी समावेशी राज्य ब्यबस्थाको लामो र सफल अभ्यास गरेका प्राय: मुलुकहरुमा मध्यावधी निर्वाचन, बिशेष निर्वाचन र अफ दि ईयर ईलेक्सनहरु सरकार र सत्ताधारी दलको नाडी छाम्ने अथवा परिक्षा लिने "मिनी-रेफरेन्डम" नै हुने गर्दछ । तर लामो राजनैतिक संक्रमणबाट बल्लबल्ल बहुरिएको, लोकतन्त्रको अभ्यास होइन परिक्षण गर्दै गरेको अनि आम मानिस भात्री संगठनको नाममा दलगत राजनीतिमा रमाएको हाम्रो जस्तो देशमा यस्ता निर्वाचनहरु नियामित आकस्मिकता मात्र हुने गर्दछ । खराब गर्नेहरुले नसिहत या सजाय अनि राम्रो गर्नेले जनमत या पुरस्कार पाउने स्तरको समाज हाम्रो भईसकेको छैन । 
 
हामी बसेको कर्मभुमी अमेरिकाको राजनैतिक बिगतलाई यस कसीमा राखेर विश्लेषण गर्ने हो भने राष्ट्रपति लोकप्रिय हुँदाहुँदै पनि हरेक मध्यावधि निर्वाचनमा बिपक्षी दलले जनमत आफ्नो पक्षमा पार्ने गरेको छ । राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यु. बुश, बराक एच. ओबामा अनि डोनाल्ड जे. ट्रम्पको कार्यकालमा त्यस्ता खाले अभिमतहरुको प्रामाणिक पुष्टी भईनै सकेको छ । 
 
यो दूरदराजबाट नेपालको राजनैतिक आंकलन गर्न कठिन त छ तर "ट्रेन्ड" बुझ्न भने खासै गाह्रो छैन । नेपाल छाडेर प्रवासमा बीसौं बर्ष बसेका हामी यतैबाट "कम्युनिष्ट" र "कांग्रेस" भन्दै दस काम छाडेर प्रचारमा लाग्दछौँ कैयन अवस्थाहरुमा त यतैबाट जिताई दिने गफ पनि हाँक्छौँ । गुण र दोषका आधारमा अभिमत बनाउँदैनौं । जन्मजात कांग्रेस, कम्निष्ट अनि खानदानी राजाबादी के के के के? जजमेन्टमा कामी नितान्त निम्छरा छौं ।
 
प्रारम्भिक परिणाम हेर्दा सत्ताधारी नेकपाको विपक्षमा ठुलो अभिमत देखिएको छैन । अघिल्लो पटक नेकपाले जितेका ७/८ सीट कांग्रेसले खोस्लान, ४/५ ठाउँमा क्रमश संगठित हुदै जोडिदै आएका समाजबादीले थुत्लान, साझा-बिबेकशीलहरुले ठुला दुई दलका मत यताउता तानातान गर्लान तर खासै कायापलट हुने स्थिति छैन ।
 
मेरो विश्लेषणमा हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि एउटा खुसीको संकेत र सन्देश के हो भने धर्मको नाममा मान्छे लडाएर सत्तारोहण गर्ने सपना बोकेका सर्वसत्ताबादी राप्रपा, राजाबादीहरुको धर्म-राजनीति अब राष्ट्रिय परिदृश्यबाट करिव करिब समाप्त भयो भने राजनीति गन्धा हो भन्दै किनारामा रमिता हेरेर बस्ने शिक्षित र सचेत युवा पुस्ता साझा, बिबेकशील पार्टीका नाममा जनताको घरदैला पुग्न थालेका छन ।  
 
कास्की क्षेत्र नम्बर २ अहिले चर्चाको शिखरमा छ । प्रतिपक्ष नेपाली कांग्रेसले खेमराज पौडेल नामका एकजना साह्रै असल, ईमान्दार र त्यागी मानिसलाई उम्मेदवार बनाएको छ । सत्ताधारी नेकपाले स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई (अधिकारी) लाई अघि सारेको छ । यो निर्वाचन निक्कै प्रतिष्पर्धात्मक हुने आंकलन गरिएको छ तर मेरो नितान्त निजी बिचार र विश्लेषणमा निर्वाचन परिणाम बिद्या भट्टराई (अधिकारी) कै पक्षमा जानेछ । 
 
त्यसका दुई प्रमुख कारण छन एउटा सांगठनिक रुपमै पनि नेकपा कमजोर छैन अथवा नेपाली कांग्रेस रणनैतिक किसिमले बलियो पनि छैन  । त्यो भन्दा बढी बिद्या भट्टराई (अधिकारी) ले पार्टीगत या बैचारिक मत भन्दा पनि "साहानुभुती-मत" पाउने छिन । हाम्रो पुरुषप्रधान नेपाली समाजको बनावट र स्वरूपनै त्यस्तो खाले छ अझ त्यसमाथि पनि अनाथ महिला र बिधवा माथि च्व:च्वको सद्भाव, सहानुभूति अनि सान्त्वना राखेर पुरुष भएको गर्व पाल्नेहरुको कुनै कमी छैन । बिद्या भण्डारीले दुई पटक स्थापित गरेको नजिर कास्की क्षेत्र नम्बर दुईमा पुनरावृत्ति हुने सम्भावना अधिक छ ।
 
गीत-संगीतमा मात्र कहाँ हो र नेता चुन्ने कुरोमा पनि " हामी यस्तै त हो नि ब्रो!
 
– न्यूजर्सी अमेरिका