मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका तीनवटै वडामा कांग्रेसका उम्मेदवार विजयी

चितवनका तीनवटै वडामा कांग्रेसका उम्मेदवार विजयी


चितवन । चितवनका भरतपुर १६, खैरहनी ४ र ५ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । चितवनका तीनवटै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
 
भरतपुर महानगरपालिका १६ , खैरहनी नगरपालिका ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
 
भरतपुर महानगर १६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतअन्तरका साथ विजयी भएका छन् । उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेका थिए भने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालीन नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
 
चितवनको उपनिर्वाचनमा कांग्रेस र नेकपाले प्रतिष्ठाको विषय बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । तीनै वडामा कांग्रेसका उम्मेदवाार विजयी बनेपछि नेकपालाई ठूलो झड्का लागेको हो । 
 
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा ७३.६९ प्रतिशत मतदान भएको थियो । कुल आठ हजार ४८० मतदाता रहेको यस वडामा ६ हजार २५० जनाले मतदान गरेका थिए ।
 
यस्तै, खैरहनी नगरपालिका ४ मा कांग्रेसका उमेदवार देवबहादुर बस्नेतले नेकपाका उमेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका छन् ।
 
खैरहनी नगरपालिकाकै ५ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसकी उमेदवार प्रतिमा कार्कीले नेकपाका उमेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् ।
 
खैरहनी वडा ४ मा दुई हजार ६९२ र वडा ५ मा २ हजार १११ मतदाता रहेका थिए । खैरहनी वडा ४ मा दुई हजार १७२ र वडा ५ मा १ हजार ६७० मत खसेको निर्वाचनले जनाएको छ । निर्वाचन अधिकृत विद्याराज पौडेलका अनुसार शान्तिपूर्ण तवरले निर्वाचन भएको थियो । वडा ४ मा ८०.६८ प्रतिशत र वडा ५ मा ७९.१० प्रतिशत मत खसेको पौडेलले बताए ।
 
०७४ फागुन ६ गते खैरहनी वडा ४ का तत्कालीन वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र खैरहनी वडा ५ का विश्वविजय बस्नेतको गाडी दुर्घटनामा निधन भएको थियो । भरतपुर १६ का वडाअध्यक्ष चतुरमान गुरूङको असोज ४ गते क्यान्सर रोगका कारण निधन भएपछि तीन वडामा उपनिर्वाचन भएको थियो ।