मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सवारी दुर्घटनामा तीनको मृत्यु, १५ गम्भीर घाइते

सवारी दुर्घटनामा तीनको मृत्यु, १५ गम्भीर घाइते


सुर्खेत । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस (फोर्स) गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । 
 
मृत्यु हुनेमा पुरानो घर दैलेख भई हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उनकी श्रीमती कमला बडुवाल रहेका छन् । अर्का मृतक वीरेन्द्रनगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 
 
प्रहरीका अनुसार गाडी सडकबाट २५० मिटर तल खसेको छ । हाइसमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । 
 
घटनालगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै उद्धारकार्यलाई प्रभावकारी बनाएका कारण अन्य मानवीय क्षति हुननसकेको दैलेखका प्रहरी प्रमुख हरीबहादुर ओलीले जानकारी दिए । 
 
सवारीचालक नरेश शाहीको ढाडमा चोट लागेकाले प्रहरीको निगरानीमा उनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको छ । घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको छ । 
 
घाइते हुनेमा सुर्खेत खजुराका मङ्गले गुरुङ, मुकेश गुरुङ, सुर्खेत तातोपानीका एकै परिवारका मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भीम परियार, बाँके नौवस्ताका कर्णबहादुर बोगटी र उनकी श्रीमती लक्ष्मी बोगटी, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लक्ष्मी रावत, दिलबहादुर कटुवाल, दुल्लु नगरपालिकाका लक्ष्मी योगी र अभिषेक योगी, सुर्खेत सुवकुनाका देवीप्रसाद सुवेदी, धुलायबीट बस्ने चन्द्रकली सिगौली, दैलेख भगवतीमाईका लक्ष्मीप्रसाद उपाध्याय रहेको प्रहरीले जनाएको छ ।
 
साँगुरो सडक र तीव्र गति दुर्घटनाको मुख्य कारण हुन सक्ने आशंका गरिएको छ । स्टेयरिङ फेल भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।