मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आचारसंहिताको उल्लंघनप्रति कांग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

आचारसंहिताको उल्लंघनप्रति कांग्रेसद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार हुन गइरहेको उपनिर्वाचनको पूर्वसन्ध्यामा सत्तापक्षबाट आचारसंहिताको उल्लंघन भइरहेको बताउँदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 
 
कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आचारसंहिता उल्लंघनका सबै घटना र भय–त्रास चिरेर आफ्नो स्वविवेकले मतदान गर्न मतदातामा अपिलसमेत गरेको छ । 
 
पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको अन्तिम घडीमा अझ बढ्नसक्ने राज्य नियन्त्रित त्यस्ता गतिविधि रोक्ने सक्षमता प्रस्तुत गर्न निर्वाचन आयोगलाई आग्रह गरे । 
 
आचारसंहिता विपरीत केन्द्रीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म चुनाव प्रचारमा संलग्न भएको, कयौँ स्थानमा सरकारी साधन–स्रोतको दुरूपयोग गरिएको, कांग्रेसका उम्मेदवार तथा अन्य कार्यकर्तामाथि नेकपाका कार्यकर्ताले भौतिक आक्रमण गरेको कांग्रेसको आरोप छ । 
 
निर्वाचनलाई आफ्नो पक्षमा अनुकूल बनाउने प्रयासमा कयौँ कर्मचारीलाई निर्वाचन क्षेत्रबाट अन्यत्र पठाउने र अन्यत्रबाट अनुकूलका कर्मचारी निर्वाचन क्षेत्रमा खटाउने जानकारी दिँदै उनले भने, “अरूबेला काममा ढिलासुस्ती तर अहिले कयौँ ठाउँमा रातारात डोजर चलाउने, सडक पीच गर्ने अनि योजनामै नभएका काम पनि चाँडै सम्पन्न गर्नेछौँ भनेर प्रलोभनमा पार्ने प्रयत्न गरिएको छ ।”
 
त्रिचन्द्र क्याम्पस प्रमुखमाथि भएको आक्रमण निन्दनीय भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शुल्क वृद्धिका विरुद्ध आवाज उठ्नु सही छ तर सत्तारुढ नेकपा निकटका विद्यार्थीले क्याम्पस प्रमुखमाथि भौतिक आक्रमण गर्नु दुःखद् मात्रै होइन दण्डनीय भएको बताए । 
 
त्रिचन्द्रमा गुरुमाथि आक्रमण गर्ने समूहले नै नेपाल कमर्श क्याम्पस, मिनभवनमा नेपाल विद्यार्थी संघका सदस्यमाथि आक्रमण गरेर डुजाङ शेर्पा, सरोज तिमल्सिना र निरज शाहलाई घाइते बनाएको बताउँदै उनले घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे । 
 
कालापानी प्रकरणमा गम्भीरता देखिएन
 
नेपालका अविभाज्य भूमिहरू कालापानी, लिपलेक र लिम्पीयाधुरासमेत गाँसेर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले उच्चस्तरीय कूटनैतिक र राजनीतिक पहल गरेको नदेखिएको भन्दै प्रवक्ता शर्माले कालापानीबाट भारतीय सुरक्षा बल फिर्ता गराउने राष्ट्रिय एकताको ऐतिहासिक अवसर गुम्न सक्ने आशंका र खतरा बढेको उल्लेख गरे । उनले यस विषयमा गम्भीर भएर पहलकदमी गर्न सरकारलाई आह्वानसमेत गरे । 
 
उनले भने, “पछिल्लो समय त्यस्तै घटना दोहोरिएको छ, बीपी कोइरालाले आफ्नो पालामा शिलान्यास गरेको बनेपा–वर्दीवास सडक गिरिजाप्रसाद कोइरालाको पालामा जापानको सहभागितामा निर्माण प्रारम्भ भई काम सम्पन्न भयो । त्यही सडकसँग गाँसिएको धुलिखेलदेखि सूर्यविनायकसम्मको खण्ड विस्तार गर्ने जिम्मेवारीबाट जाइका बाहिरिने संकेत देखिनुु दुःखद छ ।”
 
रोजगार कार्यक्रमका नाममा सरकारले गएको वर्ष अनुत्पादक ढंगले मुलुकको रु चार अर्ब स्वाहा बनाएको आरोप लगाउँदै प्रवक्ता शर्माले त्यही असफल परियोजनाका लागि विश्व बैंकसँग रु १३ अर्ब ७३ करोड ऋण लिन गरिएको सम्झौताले हरेक नागरिकको शिरमाथि वैदेशिक ऋणको भार थपिन लागेको धारणा व्यक्त गरे । 
 
कांग्रेसले स्थायी रोजगारी सृजनाको क्षेत्रमा नवीन सोचका साथ अघि बढ्न सरकारसँग अपिल गर्दै यसरी अनुत्पादक ढंगले अघि बढ्ने कर्मप्रति सर्तक रहन आग्रह गरेको छ । पत्रकार सम्मेलनको सुरुवातमै प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।