मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समय सीमा उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही

समय सीमा उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही


पथलैया । बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले सवारीसाधनलाई प्रदेश नं २ को आठ जिल्ला छिचोल्न समयसीमा तोकेपछि सोको उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको छ ।
 
आर्थिक वर्ष २०७६/७७ को साउन महिनामा मात्र ९२ वटा सवारी दुर्घटना भई ४५ जनाले ज्यान गुमाएपछि प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यस्तो समयसीमा तोकी ‘टाइम कार्ड’ लागू गरेपछि सवारीसाधनलाई कारबाही गरी राजश्व असुलेको ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताए । 
 
समयसीमा तोकिएपछि पश्चिमबाट पूर्वतर्फ जाने तथा पूर्वबाट पश्चिमतर्फ आउने सवारीसाधनले प्रदेश नं २ को आठ जिल्लाको २२५ किलो मिटरको बाटो ५ घन्टा २५ मिनेटभित्र पार गरिसक्नुपर्ने गरी लागू गरेको नियमविपरीत सवारीसाधनहरुले आफू खुसी चाँडै गन्तव्यतर्फ जाने गरेकोले चालू आवको चार महिनामा ६० हजार सवारीसाधनलाई कारबाही गरी रु तीन करोड ६८ लाख ६० हजार राजश्व असुल गरेको बताइएको छ । 
 
सो अवधिमा १९ हजार ९६९ ट्रक, चार हजार ९९३ बस, सात हजार २२५ वटा कार, जीप र भ्यान, तीन हजार ५२८ वटा ट्र्याक्टर, २० हजार ५५४ वटा मोटरसाइकल र तीन हजार ६३६ वटा टेम्पोलाई कारबाही गरिएको छ । 
 
प्रदेश नं २ को पथलैयादेखि पूर्वको भारदहसम्म २२५ किलो मिटरको बाटो तय गर्दा चालक तथा यात्रुहरुलाई सहज होस् भनेर प्रदेश नं २ को मध्य भाग लालगढमा ट्राफिक प्रहरीले बनाएको विश्रामस्थलमा १० मिनेट रोक्नसक्ने व्यवस्थासमेत मिलाइएको छ । त्यहाँ यात्रुहरुका लागि खानपान, शौचालय, स्नानगृहसमेत व्यवस्था मिलाइएको बताइएको छ । 
 
यदि कुनै सवारीसाधन अत्यधिक गतिमा तोकिएको समयभन्दा चाँडै गएमा त्यस्तो सवारीसाधनलाई कारवाही गरिने छ । ‘हाम्रो अभियान सहज र सुरक्षित ट्राफिक व्यवस्थापन’ भन्ने नाराका साथ लागु गरिएको टाइम कार्डका कारण सवारी दुर्घटनामा कमी आउने विश्वास लिइएको छ । 
 
यात्रु पाउने लोभमा सवारीसाधनबीच हुने प्रतिस्पर्धाका कारण तोकिएको समय उल्लंघन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । 
 
यसैबीच, आव २०७५/७६ मा एक हजार ३५२ वटा सवारी दुर्घटनामा परी ४९६ जनाले ज्यान गुमाएक थिए भने ६५६ जना सख्त घाइते र ९१४ जना सामान्य घाइते भएका थिए । सोही आवमा ६१ हजार ३७० सवारीसाधनलाई कारबाही गरी एक करोड ९१ लाख आठ  हजार जरिवानावापत असुल गरिएको थियो ।