मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रेनु दाहाललाई मतदान गर्न लगाउनु गम्भीर गल्ती : गगन थापा

रेनु दाहाललाई मतदान गर्न लगाउनु गम्भीर गल्ती : गगन थापा


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा आफूहरुले रेनु दाहाललाई मतदान गर्न लगाएर गम्भीर गल्ती गरेको बताएका छन् ।
 
चितवनको भरतपुर १६ मा बुधबार आयोजित नेपाली कांग्रेस वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता थापाले आफूहरुले हँसिया हथौडामा भोट हाल्न लगाउँदा तत्कालीन माओवादी र एमालेलाई फाइदा पुगेको बताए ।
 
नेता थापाले सो चुनावीलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए । नेता थापाले सरकारको शैली बदल्न पनि नेपाली कांग्रेसले निर्वाचन जित्नुपर्ने जिकिर गरे । 
 
प्रधानमन्त्री भएपश्चात् केपी ओलीले दुई वर्षभित्रमा पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाउने, पानीजहाज चलाउने, रेल भित्र्याउने सपनामात्रै देखाए पनि कुनै पनि आश्वासन पूरा हुन नसकेको थापाले टिप्पणी गरे ।
 
सो चुनावी सभामा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वडा नं १६ मा जसरी पनि चुनाव जितेर देखाउने दाबी गरे । सभापति श्रेष्ठले काग्रेसलाई भोट हालेर पश्चाताप गर्न नपर्ने धारणासमेत राखे । सभालाई काँग्रेस केन्द्रीय सदस्य डिना सङ्ग्रौला, नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार अमृत हमाललगायतले बोलेका थिए । कार्यक्रममा नेकपा परित्याग गरी १५० जना कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए ।
 
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काँग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको छ । संयुक्तका तर्फबाट वडाध्यक्षका उम्मेदवार विष्णु त्रिपाठी र जिल्ला सचिव केशव भण्डारीले आफूहरुको समर्थन काँग्रेसको उम्मेदवारलाई भएको बताए ।
 
भण्डारीले जिल्ला समितिको निर्णयले भरतपुर महानगर–१६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रिक गठबन्धनलाई सहयोग गरेको जानकारी गराएका थिए ।
 
साविक मंगलपुर गाबिसको वडा नम्बर ४ देखि ९ सम्मलाई गाभेर १६ नम्बर वडा बनेको छ । ८ हजार ४८१ कूल मतदाता रहेको यस वडामा महिला ४ हजार ४ सय ५८ र पुरुष मतदाता ४ हजार २३ रहेको छ । गत निर्वाचनमा विजयी चतुर्मान गुरुङको निधन भएपछि यस वडा उप–निर्वाचन हुन लागेको हो । 
 
वडा नम्बर १६ को नतिजा आफ्नो पक्षमा पार्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष काँग्रेसले भरमग्दुर प्रयास गरेका छन् । अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रसमेत रहेकाले नेकपाले यसको हारजितलाई प्रतिष्ठाको रुपमा लिएको छ ।