मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध : उपाध्यक्ष ढकाल

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध : उपाध्यक्ष ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागिपरेको बताएका छन् । 
 
सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले भने– ‘सामाजिक सुरक्षा प्रणाली लागू गर्ने क्रममा केही व्यावहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि बढ्नुपर्छ ।’  
 
सभापति ढकालले श्रमजीवी वर्गको सुरक्षा र सुनिश्चित भविश्यको लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनाबारे व्यापक जानकारीसहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागिपरेको स्पष्ट गरे । 
 
नेपालको एकजना उद्यमी ढकालले भने– ‘हामी सामाजिक सुरक्षा योजना सञ्चालनको सुुरु अवस्थामा छौँ, यो महत्वपूर्ण प्रणालीको सुरुवात गर्दा केही अप्ठ्यारो आउनु स्वाभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचीकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न सुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्छ ।’
 
आईएमई समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजनाबारे बुझाउन समय लागेकोले पनि सूचीकरण प्रक्रियामा केही ढिलाइ भएको बताए । उनले थप स्पष्ट गरे– ‘सूचीकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन, प्रस्तावित सामाजिक सुरक्षा योजनाका बारेमा रोजगारदाता र श्रमिक सबैलाई प्रष्टसँग बुझाउन सक्नुपर्दछ ।’ 
 
योगदानकर्तालाई सामाजिक सुरक्षा योजनाबाट प्राप्त गर्ने सुविधाबारे बुझाउन सकिएन भने थप जटिलता आउनसक्ने तथ्यलाई मनन गरी यसको अवधारणालाई नेपालको परिवेशअनुसार अघि बढाउनुपर्ने ढकालले जिकिर गरे । 
 
हाल प्रचलनमा रहेको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई एकीकृतरुपमा सामाजिक सुरक्षा योजनाअन्र्तगत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनले भने– ‘भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिबाट सम्भव छैन, व्यावहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।’
 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले भने– ‘सामाजिक सुरक्षा हामी सबैको साझा लक्ष्य हो, रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ यसको सफल कार्यान्वयनको लागि प्रतिबद्ध रहेको छ ।’ 
 
नेपाल सरकारले यो कार्यक्रम लागू गरेको सामाजिक सुरक्षा कार्यक्रम वर्षदिन पुगेको अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन राजधानीमा यो कार्यक्रमको आयोजना गरेको हो ।
 
सो कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, नेपाल सरकारका सचिवहरु, नेपाल उद्योग वाणिज्य महासंघका नेताहरुलगायतको सहभागिता थियो ।