मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ

बालिकालाई फकाएर लैजाँदै गर्दा एक भारतीय पक्राउ


राजविराज । नेपालमा दैनिक १० जना बालबालिका हराउने तथ्यांक सार्वजनिक हुँदै गर्दा बालिकाको चोरी हुने क्रम पनि बढिरहेको छ । आज राजविराजमा पनि एक बालिका चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ । 
 
बङ्गाली भाषामात्र बोल्न जान्ने भएकाले अनुसन्धानका क्रममा बङ्गाली भाषा बुझ्ने स्थानीय एकजनाको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक  तिलक भारतीले बताए । 
 
पक्राउ परेका व्यक्ति साहले मानसिक सन्तुलन गुमाएकोजस्तै व्यवहार देखाइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।  
 
प्रहरी नायब उपरीक्षक भारतीका अनुसार घटनाबाट जोगिन मानसिक सन्तुलन गुमाएको नाटक गरको हुन् वा वास्तवमै बच्चा चोरी गर्ने काम गर्छन् भन्नेबारे यकिन गर्न अनुसन्धान भइरहेको बताए । प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घन्टीसमेत बरामद गरेको छ । 
 
आज  बिहान राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शंका लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए । 
 
सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए ।  
 
यता हाल प्रहरी हिरासतमा रहेका साहसँग आवश्यक सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । बालिकालाई आजै पविमाविका प्रधानाध्यापक अरुणकुमार झाको रोहवरमा उनको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 
 
यसअघि गत कात्तिक १४ गते पनि हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चकलेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए । 
 
पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमीर झा अहिले पनि अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले  जनाएको छ ।