मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : वरिष्ठ नेता पौडेल


कास्की । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । 
 
कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–८ मा आज आयोजित चुनावीसभामा उनले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताए । 
 
सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको बताउँदै उनले भने, “कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो ।” 
 
लोकतन्त्रलाई बचाउन पनि काँग्रेसलाई विजय गराउन नेता पौडेलले आग्रह गरे । कास्की २ मा पार्टीका तर्फबाट उम्मेदवार खेमराज पौडेल आफ्नो पनि गुरु भएको स्मरण गर्दै उनले पौडेलजस्तो इमान्दार र त्यागी नेतालाई जिताएर पठाए कास्केली जनताको इज्जतसमेत बढ्ने स्पष्ट पारे । 
 
पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले मंसिर १४ गते हुने उपनिर्वाचनले वर्तमान सरकारलाई सशक्त सन्देश दिने बताउँदै सरकारलाई सच्याउनका लागि पनि काँग्रेसले जित्नुपर्ने जिकिर गरे । 
 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रिमण्डल हेरफेरले नै नेकपा नेतृत्वको सरकारका असफलतालाई उजागर गरेको बताए । 
 
सरकारले पूरा गर्न नसकेका कुरा जिम्मेवार प्रतिपक्षीको हिसाबले काँग्रेसले एकएक हिसाब गरेर बसेको बताउँदै उनले जनताका लागि यो उपनिर्वाचन सरकारले कामको मूल्यांकन गर्ने अवसर भएको धारणा राखे । 
 
कार्यक्रममा काँग्रेस नेताहरू प्रदीप गिरि, धनराज गुरुङ, तारानाथ रानाभाट, सुवास सिग्देल, शारदा गिरी, कृष्णमान ठुसाजूलगायतले आ–आफ्ना धारणा राखेका थिए ।