मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर


काठमाडौं । अचानक पेट दुखेर त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’को सीसीयू (कोरोनरी केयर युनिट)भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।
 
प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा अरूण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ । “पेट दुखेर अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको रहेछ । उहाँको शल्यक्रिया सफल भएको छ,” सायमीले जानकारी दिए ।
 
त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा। रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो ।
 
ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्वास्थ्य परीक्षणका क्रममा अस्पताल गएका प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएपछि जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सुझावअनुसार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।
 
प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए । 
 
सन् २००७ अर्थात् १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीको मिर्गौलाको कार्यक्षमताका ह्रास आएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
 
प्रधानमन्त्री ओली पछिल्लोपटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा डायलासिस गराउँदै आएका छन् । हालसम्म उनको चारपटक डायलासिस भइसकेको छ । (फाइल फोटो)