मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनताको जायज मागको पक्षमा छौँ : सभापति देउवा

जनताको जायज मागको पक्षमा छौँ : सभापति देउवा


बागलुङ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्र्याएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् । 
 
कांग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताए । 
 
पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै कांग्रेस त्यस क्षेत्रमा क्रियाशील नेताहरुले बेलाबेलामा आवाज उठाउँदै आएका छन् ।
 
अहिले देशभर चलिरहेको राष्ट्रियताको संघर्षमा सरकारले सोचेजस्तो पहलकदमी नगरेको बताउँदै देउवाले कूटनीतिक तवरबाट सिमानाको विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिए । 
 
बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारका सिलसिलामा आयोजना भएको आमसभामा देउवाले उत्तरगङ्गा जलाशययुक्त आयोजना बागलुङतर्फ नै बनाउनका लागि आफूले पहल गर्ने बताए । 
 
“उत्तरगङ्गा कहाँ बन्ने भन्नेमा विवाद रहेको छ”, उनले भने, “यो आयोजना बागलुङतर्फ नै बनाउनका लागि हाम्रो दलले पहल गर्छ ।”
 
मध्यपहाडी लोकमार्गको कामलाई तीव्र बनाउन र सालझण्डी ढोरपाटन लोकमार्गको काम थालनीका लागि पार्टीले दबाब सिर्जना गर्ने उनको भनाइ थियो । 
 
पश्चिम बागलुङसँग जोडिएका गौरवका आयोजना ओझेलमा रहेको भन्दै देउवाले जनताको हितमा हुनै जुनसुकै काममा कांग्रेसले साथ दिने बताए ।
 
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले प्रजातन्त्रलाई नै खतरामा पार्न खोजेको आरोप लगाएका छन् । 
 
“सरकार राम्राभन्दा पनि नराम्रा काम गर्दै गएको छ”, नेता पौडेलले भने, “यस्तै चालले अबको तीन वर्षमा देश पूर्ण खतरामा जाने सङ्केत देखिएको छ ।” 
 
उनले भारतसँगको सीमा विवादलाई सङ्केत गर्दै गाउँगाउँमा सरकारको विरोध भइरहेको भन्दै अबको दिनमा सरकार नेतृत्वले कूटनीतिक क्षमता प्रर्दशन गर्न सक्नुपर्ने बताए । 
 
त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा सशांक कोइरालाले आफ्ना उम्मेदवारलाई जिताएमात्र गाउँ समाजमा समृद्धि आउने बताए । 
 
चुनावीसभामा कांग्रेसका युवा नेता गगन थापा, प्रदीप पौडेललगायतले बोलेका थिए ।