मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको जमिन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री

नेपालको जमिन कसैलाई मिच्न दिइँदैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको जमीन कसैलाई मिच्न नदिइने दृढता व्यक्त गरेका छन् ।
 
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको भेलालाई सम्बाधन गर्दै उनले सरकार आफ्नो देशको सिमाना रक्षा गर्न सक्षम रहेको दाबी गरेका हुन् ।
 
मुलुकको सिमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै राजनीतिक दल एकीकृत भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।
 
अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवादसमेत दिएका छन् । 
 
“दशकौँअघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएकोजस्तो गरेर प्रचार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने, “यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इञ्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।”
 
विश्व समुदायका सामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इञ्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
 
कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए ।
 
“कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएका छन्”, प्रधानमन्त्री ओलीले भने, “हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौँ ।”  
 
दशकौँअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर, अतिरिक्त देशभक्ति देखाउने नाममा उच्छृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
 
“राष्ट्रियता, राष्ट्रिय अखण्डताका पक्षमा सरकारलाई सबैको साथ रहेको छ । सरकारलाई प्राप्त बलियो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु”, प्रधानमन्त्री ओलीले भने,  “आफूलाई अतिरिक्त देशभक्त देखाउन गरिने उच्छृंखल गतिविधि अनुचित छन् । हामी कूटनीतिक संवादबाट समस्याको समाधान गर्नेछौँ ।”
 
प्रधानमन्त्री ओलीले सङ्क्रमणकाल अन्त्य गरी कानूनी आधारसमेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको दाबी गरे ।