साहित्य / विविध / फिचर

विदेशिएकी रीमा

1150 पटक पढिएको

– कमला अधिकारी लोहनी

कथा | 16th Nov 2019, Saturday | २०७६ कार्तिक ३०, शनिबार ०७:०१
धेरै बर्ष पछाडी अमेरिकाको कुनै सुन्दर समुन्द्रको किनार तिर भेटिन्छे रीमा।
 
हामी सपरिवार घुम्दै पुगेको त्यो सुन्दर ठाउँले अमेरिका मात्र नभएर संसार भरिकै पर्यटकहरु तानेको हुन्छ । तर मेरो ध्यानलाइ त्यो ठाउँले खासै तानेको थिएन ,जति उसको बिगत र अनायासै भेटिएकी उसले ।
 
हरेक ब्यक्तीहरुका जीउने शैली भन्दा उनीहरुको भोगाइ र संबेदनाहरुसँग लुकेका यथार्थहरु को फरक नक्सा कोर्ने प्रयास गरिरहन्छ मेरो कलम । लाग्छ जीबन देखी हारेका कथाहरु कोर्न नपरोस् ।
 
लाग्छ, जसरी अस्पतालका शैयाहरुमा पीडाले छटपट्टी रहेको बिरामी एकमात्रा पेन किलर दिएछपछी, सजिलै राहतको महसुस् गरेर मुस्कुराउँछ । त्यसरी नै जीवनका हरेक अध्यायहरुमा चोटैचोटले थिलथिलो पारेका जिन्दगीहरुका लागी मुस्कुराउने कुनै चिज बनोस् । तर बन्दैन, अँह.. कुनै ट्याब्लेट, इन्जेक्शन या क्यापसुल बन्दैन । बन्छ त केबल जीन्दगी नै भार बन्छ । आफ्नै र आफन्तहरुका लागि । अन्तत शिथील मनहरु छताछुल्ल पोखिन्छन सम्हाल्नै नसक्ने गरि I
 
उ त्यै रीमा हो जस्लाइ धेरै बर्ष पहिले कसैले काठमाडौँको एक अस्पताल नजिकैको गल्लीमा लगेर छोडी दिएको थियो । उ त अचेत थिइ, घरी बर्बराउँथी, तर बर्बराएका वाक्यहरु बुझ्न धेरै कठीन थियो। जस्ले उस्लाइ त्यहां छोडी दियो । उ पनि त्यति धेरै निर्दयी नहुन पर्छ मेरो बिचारमा।  किनकी उ ब्यस्त गल्लीमा छाडिएकी थिइ । जहाँ अस्पतालका डाक्टर, नर्स लगाएत सम्पुर्ण कर्मचारीहरुको २४ सै घन्टा ओहोरदोहोर भइरहन्छ । कसैले उसलाइ अस्पताल पुर्यायो र बेवारीसे बिरामीको दर्जामा उपचार गरियो ।
 
यस्ता धेरै रीमाहरु हुन्थे । हरेकको आआफ्नै काथाहरु हुन्थे, समग्रमा अधिकांश रीमाहरुको मिल्दो जुल्दो कथाहरु हुन्थे । मलाइ रीमाको बारेमा थाहा पाउन मन लाग्यो । फेरी थाहा पाएर पो के गर्न सकुँला ? जसो तसो उपचार त गरेकै थियो अस्पतालले । पक्कैपनि उनको जाने ठाउँ छैन होला I
 
जीबनजल र सीटामोलको अभाबमा हजारौंको ज्यान जान सक्ने त्यो अनौठो भुगोलमा पुनर्स्थापन या थेरापीका उपचार पद्दतीहरु मात्र डाक्टर नर्सहरुले पढ्ने गरेका बिदेशी किताबहरुमा सीमित थिए । म यस्तै यस्तै हजारौ जिज्ञाशा मनमा खेलाउन्दै अर्को दिन अस्पताल पुगेँ उन्लाइ भेट्न ।
 
महिला अधिकारकर्मी का रुपमा ताते ताते गरि रहेका मेरा पाइलाहरु हारेका कथाहरुले नै बिचलित हुन लागेसकेका थिए I घर ,परिवार र आफन्तहरुले ईज्जतको खास्टो ओडेर बिबेक गुमाएपछि समाज र सरकारलाई चासो हुने कुरै भएन I
 
रीमा मैंले सोचे भन्दा बिल्कुल फरक थिइन् । पीडाको कथा त थियो महिला हिंसाको । तर उनि फरक पात्र थिइन्, एक पढे लेखेकी, सचेत र उच्च खान्दानी परिवारकी । उनका लोग्ने सरकारी जागीरे र उनी प्राथामिक बिधालय कि शिक्षिका I लोग्ने र दुइ छोरी सँगै एकल परिवारमा बस्थिन् । सम्पन्न भएकै कारण सासु ससुरा अर्कै घरमा बस्थे I समय समयमा बिषेश गरी चाडपर्वमा भेटहुने सासु ससुरासँग खासै केहि गुनासो थिएन ।
 
दिनहरु बित्दै गए । छोरीहरु पनि १३ र ११ बर्षका भैसकेछन । धेरै पहिला देखि कुलतमा फसेका उनका लोग्नेसँग को दुरी बढ्दै गइ सकेको थियो I उनका लोग्ने मदिरा सेबन गरेर कुटपीट गर्ने र छोरीहरुको सम्म वास्ता नगर्ने भै सकेका थिए ।
 
आर्थिक अबस्था अझै राम्रै थियो । सके सम्म आफुलाइ सम्हालीन् । घर र छोरीहरुको रेख देख गर्न एक जना सहयोगी राखेरै भएपनि आफ्नो जागीरलाइ निरन्तरता दिइ रहिन् । तर हिंसा र दुर्ब्यबाहार आकासींदै गयो । राती निदाउनका लागी मदिराको साथ लिन थालिन I उनको अन्तरमनले लोग्नेसँग पारपाचुके गरे र छुट्टै बस्न नखोजेको पनि होइन । तर उनको कुराले ठुलै पहाड खसेर थिचे जस्तो भयो उनका आफ्नै बुवा आमा र आफन्तहरुलाई समेत I समाजको त कुरै छोडौ, सम्भावनाका सबै ढोकाहरु बन्द भएपछि मात्र मदिराको सहारा लियर जिउनुको विकल्प रहेन । सुरु सुरुमा त खासै कसैले पत्तो नपाएको हुंदा । केहि फरक परेन । बिस्तारै लत बसेपछी दैनिक काम काजमा बाधा पुग्दै गयो । अब उनी मदिराको लतमा फसेको कुरा अलि अलि साथीहरु र स्कुलतिर थाहा हुन थाल्यो ।
 
एक सचेत र सफल जीबन बिताउने क्षमतावान महिला हुन् रीमा । उनका दिन दिन दिनैं नसामा डुबेर उनी माथि दुर्व्यवहारले गर्दा चुप चाप बस्न सक्ने आफन्त र परीवारहरुले उनले निदाउन साहारा लिएको मदिरामाथी औंला ठड्याउन थालेको राम्रै सँग बुझ्न सक्थिन् ।
 
हजारौं पिडीत महिलाहरुको चित्कार सडकमा छताछुल्ल हुदै गर्दा अन्धो र बहिरो भै दिन्छ घर, परिवार समाज र सरकार । उनी शिक्षीका हुन् । उनकै कारणले बिध्धार्थीहरुको कलिलो दिमागमा नकारात्मक असर नपरोस् भनेर राजिनामा गरिन् । अझैपनि मदिराले टिल्ल परेर बिध्धालय गई हाजीर गरेर तलब मात्र खाने शिक्षकहरुको कमी छैन हाम्रो समाजमा । उनको राजीनामाले पनि चटक्कै मन छोयो ।
 
 
 
अब एक शिक्षीकाको जिम्मेवारी बाट मुक्त भै सकेकी थिइन् उनी । सँगसँगै जति जति उनले खेप्दै गरेको हिंसा हिमाल झैं चुलिंदै गए, उसैगरी मदिरापान पनि चुल्ंदै गयो र उनि पीडा बिर्सन कै लागी अत्यधिक मदिरा सेवन गरेर सडकमा छताछुल्ल हुन थालिन । एकाएक उनको परिचय एक वेवारीसे आइमाइमा पुगेर छरपष्ट भयो । जस्लाइ अब आफ्ना र आफन्त भनाउँदाहरु कसैले चिन्दैनन् ।
 
चिन्नेहरुले आँखा खोलेर मन बन्द गरे । जान्नेहरुने अन्जानमा कुल्चेर हिंडे । नचिन्ने र नजान्नेहरुले नैं अचेत अबस्थाकी वेवारिसे उनलाइ कम्तीमा कसैले देख्ने गरी फालिदिए। उनि अस्पताल पुगिन् ।
 
उनी सामान्य उपचार पछी शारिरीक रुपमा ठीक भइन् । तर मनका तरंगहरु छाल बनेर उर्लिरहेका थिए तँछाड मछाड गर्दै । म सोच्न थालें, ती छालहरुले उनैलाइ बगाउलान् या अझै शक्तिशाली बनेर वरपरका फोहर सबै बढारेर लैजालान् र बगर सफा बनाउलान् ? अहँ उनी बग्न हुँदैन, कुनैं हालतमा पनि बग्न हुँदैन । हरेक पीडाहरुका छालबाट एउटा उज्यालो निस्कन पर्छ जस्ले अन्धकारलाइ चिर्न सकोस् । यसैका लागि अलिकति उर्जा थप्ने कोशिष गरें ।
 
“ रीमा, म अन्जली । अस्पतालमा आएका र समस्या परेका बिरामीहरुलाइ सहयोग गर्ने उधेश्यले म हप्ताको १ देखी २ अस्पताल वरीपरी रहन्छु ।” म तिमीलाइ केहि सहयोग गर्न सक्छु ? उनले हुन्छ भनिन् ।
 
सिस्टरको अनुमति लिएर हामी अस्पतालको बगैंचा तिर लाग्यौं । करीब एक घन्टाको भलाकुसारी पछी उनको अनुहारमा छुट्टै भाब पोखिएको थियो जुन भाबमा न आत्मा ग्लानी थियो न त कुनै पछुतो । थियो त मात्र साहस र अठोट ।
 
उनी उठीन् । सरासर अस्पतालको बेडतिर लागिन् । सिस्टरसंग डिस्चार्ज गरिदिन अनुरोध गरीन् । अस्पतालमा फेरेर राखेको फोहर लुगा खोतलेर सुरुवालको खल्तीबाट हिमालयन बैंकको ए.टी.एम कार्ड निकालिन् र काउन्टर तिर लागीन् । यतिबेर सम्म डिस्चार्ज कागजात तैयार भैसकेको थियो । नर्ससँग एक छिन बाहीर गएर पैसा लिएर आउने अनुमति मागिन् ।
 
नर्स– “बैनी यता धेरै जसो बिरामीहरु पैसा लिएर आउने भन्दै बाहीर निस्कन्छन् र कहिल्यै फर्कंदैनन् । चिन्ता गर्न परिदैन तपाइको बील मिनाहा भैसकेको छ । राम्रोसंग घर जानुहोस् र आफुलाइ सम्हालेर बस्नुहोस् ।”
 
सम्पर्क ठेगाना दिएर उनि म बाट ओझेल परिन् । मलाइ बिल्कुल छुट्टै अनुभुति भैरहेको थियो उनको ब्यबाहारले ।
 
भेटीएका धेरैमा फरक रीमा मेरो मानसपटलबाट कहिल्यै औझेल परिनन् ।
 
करीब ६/७ महिना पछाडी रीमाको फोन आयो । उनले कुनैं चिया पसलमा बसेर केहि कुरा गर्ने प्रस्ताव राखिन् ।  हामी ५ बजेतिर चिया पसलमा भेट्यौं ।
 
“दिदीमैंले हारी सकेको जीन्दगीमा तपाइंले जीत्न सक्ने उर्जा थपिदिनु भयो । बितेका कुरा बिर्सेर घर, परिवार र समाजमा पुनर्स्थापन हुनका लागी हजारौं प्रयास गरें । तर परिबन्दले म माथि लागेको दाग मेटिएन । घरवार बसाउने बहानामा मेरो भाबनामा आगो लगाउँदै अग्नि साक्षी राखेर मेरा श्रीमानलेअर्को बिहे गर्दा समेत मैंले केहि आपत्ति जनाइन । सारा आफ्ना र आफन्तहरुले बलेको आगो तापिरहँदा मेरो आवाज कसैले नसुन्ने हुंदा आफैं बाटो मोड्न बाध्य भएं ।”
 
मलाइ लाग्यो कतै दोस्रो बिहे गरिन् होला ठीकै भयो । मन मनै भगवानसँग पुकार गरें उनले मोडेको बाटोमा बाधा नआओस् ।
 
उनी भन्दै गइन् “म भित्र अझै प्रसस्त जीउने आधारहरु छन् । म मा अब कुनै समस्या पनि त छैन,  छ त मात्र गुनासो हाम्रो समाज प्रति । मलाइ अर्को बिहे गर्ने मेरा पति भन्दापनि उनको बिबाह समारोहमा ताली बजाउने जन्तीहरुसँग गुनासो छ । समाज र आफन्तहरुले यसरी नैं गलत संस्कारहरुलाइ तालीले स्वागत गरीरहनेहो भने अझ धेरै जीबनहरु सडकमा छता छुल्ल हुनेछन् र हाम्रा बस्तीहरु नरक बन्नेछन् । आमाको काखमा न्याय हराएको हुँदा म सात समुन्द्रपारी जांदैछु जीउने अधिकार खोज्न ।”
 
ओहो कस्तो बिडम्बना ? आमाको काखमा हराएको जीउने रहर पराइसँग कसरी पाउन संभब होला ? यस्तै यस्तै प्रश्नहरु मन भित्रै दबाएर मात्र उनलाइ परेदेशी जीबनकालागी शुभकामना दिन सकें, जब कि मैंले उनि जाने देश समेत थाहापाउन जरुरी ठानिन ।
 
मलाइ लागेको थियो धेरै बर्षपछि अनायासै भेटीएकी रीमाले मलाइ चिन्दीनन् । तर उनले मलाइ सजीलै चिनिन् । यसपाली म भन्दापनि उनि नैं धेरै उत्साहित देखिन्थिन् आफ्ना सफलताका कथाहरु सुनाउन ।
 
धेरै टाडा आउँदापनि सुरु सुरुमा उनका पीडाहरु आँधी बनेर बगिरहे । तर उनी आँधी बेहरी छलेर आफ्नो बाटो तताउन सफल भइछन् ।उनि भन्दै गइन् “म फेरीपनि आफ्नाहरु बाटै धेरै तिरस्कृत हुन पुगें, कारण सुरुमा परदेशको ठाउँ भनेर नेपालीहरु संगै नजिकिन पुगें, सहयोग पनि भरपुर पाएकै हो तर फेरि म र मेरा बारेमा घेरै टीका टिप्पणी सुरु भए, मलाइ प्रयोग गर्ने धेरै हर्कत भए । मेरो जीबनको एउटा पाटो कमजोर भएको कारण सबैले त्यै कमजोरीमाथी आफ्नो बल प्रयोग गरे ।तर मलाइ बानी परीसकेको हुँदा यस्ता हर्कतहरुले पटकै गलाउन सकेन ।”
 
उनी एक बिदेशी सहकर्मी साथीको सहयोगमा एक बेडरुम अपार्टमेंटमा बस्छिन् । मेहनतको कमाइले खुशी खुशी जीउन सकेकी छन् । अझैपनि डिनरसँग प्रायः १ कप वाइनको सहारा त लिन्छिन् । तर फरक यति मात्र हो, १ कप वाइन कै कारणले न त उनलाइ तिरस्कृत हुन परेको छ न त सडकमा पोख्खीन नैं । लाग्छ आफ्नाहरु बाटै निमेठीन खेजीएको एउटा जीबन पराइको आँगनमामा स–सम्मान हुर्की रहेको छ। फेरि हाम्रो मन एकछिन घरदेश तिरै फर्कीयो।
 
उनीसँग छुट्टीन अगाडीका शब्दहरुले मन अझै अमीलो भइरहन्छ । “चार दिवार बन्द हुँदैमा घर, नाता जेडिदैमा परिवार, भीड हुँदैमा समाज हुँदैन । नारी या पुरुष भन्दापनि सबैले एक मानब भएर जीउन पाउनु पर्छ I मेरो देश,घर र समाजको आँखा अझै खुलेको छैन I कुनै दिन समाजको आँखा खुलेछ भने उत्सब मनाउन घर फर्कने छु I आफ्नै सन्तानको क्षमतालाइ कथित संस्कारको करौंतीले रेट्ने आमाको काखले मलाई स्वार्थी ठान्ने छैन ।”