मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह

राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह


पोखरा । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।  
 
भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । 
 
नेपाली सेनाको विशेष हेलिकप्टरबाट पोखरा आउनुभएका राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशप्रमुख अमिक शेरचनसहित प्रदेशका उच्चपदस्थ व्यक्तिबाट भव्य स्वागत गरिएको थियो । 
 
त्यसलगत्तै राष्ट्र बैंक चोकको सडक किनारबाट पोखरा पर्यटन परिषद्को नेतृत्वमा बसेका पर्यटन व्यवसायी, आमा समूह, टोल विकास संस्था लगायतले नेपालको झण्डा फहराएर पुष्पगुच्छासहित हमिदको भव्य स्वागत गरेका थिए । धर्मपत्नीका साथमा रहेका राष्ट्रपति हमिदले मुस्कानका साथ सबैलाई अभिवादन गरेका थिए । 
 
भ्रमण वर्षको पूर्वसन्ध्यामा अतिविशिष्ट पाहुनालाई पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको परिषद् अध्यक्ष पोखरेलले बताए । उनले यसलाई पर्यटन क्षेत्रका लागि एउटा सकारात्मक सन्देश भएको प्रतिक्रिया दिए । 
 
महिला पर्यटन व्यवसायी मञ्चका अध्यक्ष जमुना पराजुलीले सुन्दर शहर पोखरामा राष्ट्रपति हमिदको भ्रमणले पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन थप सहयोग पुग्ने बताए । 
 
नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले राष्ट्रपति हमिदको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, “पर्यटनमा प्रचारप्रसारले विशेष भूमिका खेल्छ, हमिदको पोखरा भ्रमणले पोखरा र यसको सुन्दरतालाई विश्वमा चिनाउने एउटा अर्को अवसर सिर्जना गरेको छ ।”  
 
राष्ट्रपति हमिदले आफ्नी धर्मपत्नीका साथ फेवातालमा आधाघन्टा जलविहार गरे । फेवाताल किनारस्थित फिष्टेल लजमा दिवाभोज गरेर उहाँ पोखरा आसपासका दृश्यावलोकनका लागि रुपाकोट रिसोर्ट प्रस्थान गरे । रुपाकोट गाउँपालिकाले उनको स्वागतमा झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो । करिबब एक घन्टा रुपाकोट बसेर उनी पौने ५ बजे हेलिकप्टरबाट काठमाडौँ फर्किएका हुन् । 
 
पोखराको आतिथ्यताले राष्ट्रपति हमिद निकै प्रसन्न भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । प्रजिअ केसीले भने, “सुन्दर सहरमा अतिविशिष्ट पाहुनालाई घुमाएर पठाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ ।” 
 
राष्ट्रपति हमिदले बिदाइका बेला निकै प्रसन्न मुद्रामा सबैलाई धन्यवाद दिएको प्रजिअ केसीले बताए ।