राजनीति / समाज

प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

199 पटक पढिएको

14th Nov 2019, Thursday | २०७६ कार्तिक २८, बिहीवार ०५:१५
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । 
 
घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । 
 
इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । घटनाको विस्तृत अनुसन्धान थालिएको पनि उनले बताए । 
 
बाटोमा हिँडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ । घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ । 
 
अहिले घाइते पुनको अवस्थामा सुधार आएको र उनी बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा रहेका थिए ।