मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘मिस्टर नेपाली’को उत्साहप्रद ह्युस्टन प्रिमियर

‘मिस्टर नेपाली’को उत्साहप्रद ह्युस्टन प्रिमियर


ह्युस्टन (टेक्सस)- प्रवासमा बसेका नेपालीहरुको कथालाई टपक्क टिपेर बनाइएको सिनेमा ‘मिस्टर नेपाली’ नेपालमा औपचारिक रिलिज हुनु अघि नै अमेरिकी शहर ह्युस्टनमा प्रदर्शन भएको छ। टेक्ससको ह्युस्टन निवासी देव भुषालको कथा र निर्देशनमा बनेको सिनेमाको प्रथम प्रदर्शन ह्युस्टन मै पहिले पटक हुनु पनि गज्जब कै संजोग मान्नु पर्छ। 
 
नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) संगको सहकार्यमा स्थानीय ‘एमसी ३०’ मूभी थिएटरमा गत आइतवार (नोभेम्वर १०) देखाइएको मिस्टर नेपाली हेर्न करीब दुईसय ह्युस्टनबासी नेपालीहरु पुगेका थिए।  यतै जन्मे-हुर्केका केटाकेटीहरु समेत नेपाली सिनेमा हेर्न आएका थिए। ‘ईंग्लिस सव-टाइटल’ भएकाले नेपाली भाषा कमजोर भएकाले समेत सिनेमाको मज्जा लिन सक्ने ह्युस्टनका नेपाली दर्शकहरुको प्रतिक्रिया सुनियो। 
 
करीब दुईघण्टाको नेपाली सिनेमामा साविकको नवलपरासी जिल्लाको देवचुली गाउॅमा जन्मेका र अमेरिकामा हुर्के बढेका एक नेपाली युवाको कथालाई समेट्ने प्रयास गरिएको छ। गैर आवासीय नेपालीहरुले संधै भन्ने गरेको भनाई-‘एक पटकको नेपाली संधैको नेपाली’को मर्म बोकेको सिनेमा मिस्टर नेपालीले नेपाली भाषा, संस्कृति र नेपालप्रति अत्यन्त लगाव भएका लाखौं प्रवासी नेपालीहरुको मनको आवाजलाई प्रतिनिधित्व गरेको छ’, सिनेमा हेरिसकेपछि ह्युस्टनका सक्रिय गजलप्रेमी युवा सतिश त्रिपाठीको प्रतिक्रिया थियो। 
 
‘सिनेमाले हाम्रै कुरा भनेजस्तै लाग्यो, हामीले संधै नेपाल र नेपालीको बारेमा सोच्ने, गर्ने कुरा नै मिस्टर नेपालीमा देखाउने प्रयास भएको छ’ केटाकेटीहरुलाई समेत लिएर चलचित्र हेर्न आएकी कविता नेपालको भनाई थियो। ‘आफूले पढाएको स्कुल, हुर्के बढेको देवचुली गाउॅ, अनि हाम्रै कुरा समेटिएको चलचित्र हेरेपछि गाउॅको सम्झना झनै ताजा भएर आयो’ निर्देशक भुषालको छिमेकी जयन्ती भुषालले ‘नोस्टाल्जिक’ हुॅदै भनिन्। परिस्थितिले छिटो-छिटो नेपाल गैरहन नपाउने प्रवासी नेपालीहरुलाई समेत नेपाल जाउॅ जाउॅ लाग्ने बनाउने खालको बनेको रे’छ मिस्टर नेपाली। यसले विदेशमा बस्ने नेपालीहरुलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने पक्का छ’, ह्युस्टनका लागि नेपाल सरकारका पर्यटनदूत जगदीश काफ्लेको टिप्पणी थियो। 
 
“प्रवासमा बस्नु भनेको नेपाल बिर्सनु होइन नि! यता हुॅदा बढी माया लाग्दो रैछ नेपालको। मान्छेको पहिचान भनेकै उसको भाषा र संस्कृति हो, जुन् हामीले छोडेका छैनौं”, सिनेमा हेर्न आएका ह्युस्टनका नेपाली समुदायका अगुवाहरु डा. विष्णु नेपाल, दिनकर अमात्य, उमापति भुषाल, शेष शर्मा, द्रोण गौतम, भिष्म मरासिनी, डा. मधु ज्ञवाली, बिजय बोखिम, बच्चा तिवारी, डा. कौशल झा, किशोर घिमिरे लगाएतको सामुहिक प्रतिक्रिया थियो। 
 
‘थुप्रै प्राविधिक तथा निर्देशकीय कमजोरीहरुका बावजुद केही हास्य कलाकारहरुले चलचित्र निरश बन्न दिएका छैनन्’, नेपाली चलचित्रका बारेमा जानकार मोहन ज्ञवालीको तर्क थियो। 
 
प्रेमराज दाहालले निर्माण गरेको चलचित्रमा भुवन केसी, नेपाली हास्य सिरियलहरुमा स्थापित कलाकारहरु विष्णु सापकोटा ‘हर्के’, रवि डंगोल ‘बेमान’, साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । साथै, रीमा विश्वकर्मा र स्थापित नेपाली सिने नायक सरोज खनाल र निर्देशक भुषालको समेत छोटो भूमिका रहेको चलचित्र नेपालमा यही कात्तिकको २९ गते (नोभेम्वर १५) शुक्रवार मात्र रिलिज हुँदैछ।
 
विदेशमा बस्ने नेपालीहरुलाई आफ्नै कथा बोके जस्तै लाग्ने मिस्टर नेपालीको पटकथा र सम्वाद भने त्यति सशक्त छैन। केही स्थापित हास्य कलाकाररुले ध्यान खिचिरहेपनि भुवन केसी जस्ता चलेका पुराना नेपाली नायकको प्रस्तुति र भूमिका खासै सम्झिन लाएकको पाइएन। रीमा विश्वकर्मालाई भूवन केसीसंग बिवाह मण्डपमा देखाउनका लागि मात्र किन चलचित्रमा राखिएको होला? सिनेमा हेरेर फर्केका केही दर्शकको स्वभाविक टिप्पणी सुनियो। नेपाली सिनेमा बुझेका जो सुकैको पनि त्यस्तो प्रतिक्रिया आउनु अनौठो होइन पनि। नव नायक साहिल श्रेष्ठको भूमिका राम्रै भएपनि क्लाइमेक्स तिर उनको डाइलग अलि लामो र दमदार लाग्दैन। 
 
प्रवासको कमाई र सिकाइबाट नेपाली सिनेमा बनाएर नेपाल, नेपाली भाषा र संस्कृति प्रतिको उच्च लगावलाई व्यवहारमा उतार्ने प्रयास गरेका देव भषालको निर्देशनमा बनेको पहिलो चलचित्र बिदेशमा बस्ने सबै नेपालीहरुलाई मन पर्नेमा शंका छैन। ह्युस्टन, ड्यालास, सानफ्रान्सिस्को लगाएतका अमेरिकी शहरमा भएको प्रदर्शनीमा नेपाली दर्शकहरुको उत्साहप्रद प्रतिक्रिया पाएको मिस्टर नेपालीले मूलभूमि नेपालमा यही शुक्रवारबाट हुने प्रदर्शनबाट पनि सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरेको निर्देशक भुषालले हिमालय खबरलाई बताएका छन। 
 
मल्टीप्लेक्स सहित नेपालका करीब ८० सिनेमा हलहरुमा एकैपटक रीलिज गर्न लागिएको चलचित्रको प्रदर्शन व्यवस्थापनका लागि हाल नेपालमा रहेका निर्देशक भुषाल अमेरिकामा जस्तै नेपालमा पनि मिस्टर नेपालीले सफलता पाउनेमा ढुक्क देखिएका छन्।