मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति हमिदको सम्मानमा समकक्षी भण्डारीले आयोजना गरिन् रात्रिभोज

राष्ट्रपति हमिदको सम्मानमा समकक्षी भण्डारीले आयोजना गरिन् रात्रिभोज


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका बंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच आज राष्ट्रपति निवासमा अपराह्न भेटवार्ता भएको छ ।  
 
राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटवार्तामा नेपाल–बंगलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा उनीहरूबीच विद्यमान पारस्परिक सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो । हमिदले अतिथि पुस्तिकामा समेत हस्ताक्षर गरे । 
 
विगतदेखि नै नेपाल र बंगलादेशबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकामा हमिदलाई धन्यवाद दिइन् । 
 
दुई देशबीच रहेको सम्बन्ध जनस्तरमा समेत विस्तार भएको छ भन्दै राष्ट्रपति भण्डारीले मैत्री सम्बन्ध थप विस्तार हुने बताइन् । 
 
बंगलादेशका राष्ट्रपति हमिदले नेपाल भ्रमण गर्न पाएकामा प्रसन्नता प्रकट गर्दै आफ्नो देशको स्वतन्त्रता संग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थनको स्मरणसमेत गरे ।  
 
बंगलादेशलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै राष्ट्रपति हमिदले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताए । नेपाल भ्रमण गर्ने निम्ता दिएकामा राष्ट्रपति भण्डारीको प्रशंसा गर्दै उनका बंगलादेशी समकक्षीले उच्चस्तरीय भ्रमणले सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरे । 
 
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र  परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो । यस्तै बङ्गलादेशका उच्च अधिकारीको समेत सो अवसरमा सहभागिता थियो ।  
 
यसअघि राष्ट्रपति हमिदको उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता भएको थियो । त्यस्तै आजै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेपाली कांग्रेका सभापति शेरबहादुर देउवासँग उनको शिष्टाचार भेटवार्ता भएको थियो ।
 
उनीहरुसँगको भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाइमार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । 
 
जलवायु परिवर्तनसहित अन्तर्राष्ट्रिय र क्षेत्रीय चासोका मामिलामा सहयोग सुदृढ तुल्याउनेबारेमा पनि विचार आदानप्रदान भएको थियो । 
 
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो निमन्त्रणामा नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई उनको सम्मानमा बुधबार काठमाडौँस्थित होटल याक एण्ड यतिमा रात्रिभोज आयोजना गरिन् । भोजमा प्रधानमन्त्री ओली उपस्थित थिए । 
 
मंगलबार नेपाल आइपुगेका राष्ट्रपति हमिदले मंगलबार दिउँसो भक्तपुर दरबार क्षेत्र अवलोकन गरेका थिए भने बेलुका परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए । उनी कात्तिक २९ गते स्वदेश फर्किंदैछन् । तस्बिर : प्रदीपराज वन्त / रासस