मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियताको विषयमा देश एकढिक्का छ : प्रचण्ड

राष्ट्रियताको विषयमा देश एकढिक्का छ : प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एकढिक्का भएको बताएका छन् । 
 
नेकपा भरतपुर महानगर वडाकमिटीले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको बताए । 
 
प्रचण्डले भने, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।” 
 
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एकढिक्का छ भन्ने कुरा देखिएको उनले बताए । 
 
सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनले बताए । 
 
अध्यक्ष प्रचण्डले भने, “सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”
 
उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्छ भने । 
 
अर्को एक प्रसङ्गमा उनले नेकपालाई कमजोर बनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कमजोर हुन नदिइने बताए । प्रचण्डले भोलि बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए ।
 
यसअघि पराजय भोगेको स्थानामा पनि अब हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवारले जीत हासिल गर्ने विश्वास उनले व्यक्त गरे । उनले भने, “पहिले नजितेको ठाउँमा अहिले जित्ने सम्भावना छ, त्यसका लागि हामी एकताबद्ध भएर रात दिन खट्न प¥यो ।”
 
कार्यक्रममा प्रदेश नम्बर ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रममा पार्टीका सबै वडा कमिटीका पदाधिकारी र सदस्यलाई अध्यक्ष प्रचण्डले शपथ गराएका थिए । सो अवसरमा एक हजार ३०० सदस्यले शपथ लिएका थिए ।