मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपालका बैंकिङ क्षेत्रको अनलाइन सुरक्षा प्रणाली कमजोर

नेपालका बैंकिङ क्षेत्रको अनलाइन सुरक्षा प्रणाली कमजोर


अमेरिका । नेपालका बैंकिङ क्षेत्रको अनलाइन कारोबार कम्युटर सिस्टमको सुरक्षा व्यवस्था निकै कमजोर रहेको हुँदा कुनै पनि बेला ठूलो मात्रामा नगद बाहिरिन सक्ने जोखिम रहेको छ । अमेरिकाले केही महिनाअघि नेपाललाई यसको संकेत गरेको हो ।
 
करिब चार महिनाअघि वासिंटनस्थित ह्वाइट हाउसको उत्तर कोरिया मामिला हेर्ने वरिष्ठ अधिकारीको समूहले नेपाल भ्रमण गरेको थियो । यही बेला ती वरिष्ठ अमेरिकीले सरकारी निकाय, राष्ट्र बैंंक र सम्बन्धित क्षेत्रलाई यो संकेत र चेतावनी दिएका हुन् ।
 
अमेरिकाले दिएको यो चेतावनीको करिब तीन महिनापछि चार जना चिनियाँ नागरिकले योजनाबद्ध रुपमा नेपालको बैंकिङ सिस्टमको अनलाइन कारोबारको कमजोरीबाट फाइदा उठाउँदै एटीएममार्फत लाखौँ रुपैयाँ निकालेका थिए ।
 
बैंकिङ स्रोतका अनुसार यसरी रकम गएको बारेमा अमेरिकारबाट नेपालका बैंकलाई सूचना दिइएको थियो । यही आधारमा नेपालका बैंकले प्रहरीलाई सूचना दिएकाले ती रकम चोर चिनियाँ नागरिकको समूह तत्काल पक्राउ परेका थिए ।
 
उत्तर  कोरियाबाट करिब दुई वर्षअघि पनि नेपालको बैंकिङ सिस्टमलाई ह्याक गरेर ठूलो रकम चोरिएको थियो । एनआईसी एसिया बैंकबाट त्यसबेला करिब ६० करोड रुपैयाँ चोरी भएको थियो । यो जानकारी भएलगत्तै बैंकले छानबिन सुरु गरेको थियो । त्यसबेला सो रकम फिर्ता आएको थियो ।
 
त्यसबेला एनआईसी बैंकले अन्तर्राष्ट्रिय संस्था केपीएमजीमार्फत छानबिन पनि गराएको थियो ।
 
उत्तर कोरिया हेर्ने ह्वाइट हाउसका ती वरिष्ठ अधिकारीको नेपाल भ्रमणपछि उत्तर कोरियाको लगानीमा नेपालमा सञ्चालित केही व्यवसायलाई नेपाल सरकारले बन्द गराएको थियो ।  उत्तर कोरियाबाट नेपालमा रेष्टुरेन्टलगायत केही साना व्यवसायमा लगानी आएको थियो ।
 
नेपालमा वित्तीय संस्थाको अनुगमन र सुपरीवेक्षण गर्ने मुख्य निकाय राष्ट्र बैंकले वाणिज्य बैंकलगायत वित्तीय संस्थालाई अनलाइन कारोबार र कम्युटर प्रणालीको सुरक्षामा ध्यान दिन सुझाव दिइरहेको छ ।