मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान

सीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान


काठमाडौँ । नेपाल र भारतको बीचमा रहेको सीमा समस्यालगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक आह्वान गरेका छन् । 
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालकाअनुसार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग प्रधानमन्त्रीले शनिबार छलफल गर्न लागेका हुन् । 
 
“प्रधानमन्त्रीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल गर्न बैठक आह्वान गर्नुभएको हो”, सल्लाहकार डा अर्यालले भने । 
 
बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका राजनीतिक दल, पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत सीमाबारे जानकारहरुको सहभागिता हुनेछ । 
 
भारत सरकारले पछिल्लो पटक सार्वजनिक गरेको नक्शामा लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको नेपाली भूभाग पारेको भन्दै विरोध भइरहेको छ । 
 
सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियू, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको भातृ संगठन नेपाल विद्यार्थी संघले सीमाका बारेमा भारतले सार्वजनिक गरेको नक्शाको विरोध गरिरहेका छन् । 
 
आज पनि भारतीय दूतावास नजिक विभिन्न समूहले प्रदर्शन गर्दै विरोध गरेका थिए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते प्रेस विज्ञप्तिमार्फत कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारिसकेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो –कालापानी क्षेत्र नेपालको भूभाग हो । 
 
यसैबीच, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतले आफ्नो नक्साभित्र समावेश गरेको भूमि कालापानी नेपालकै भूमि भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ।” 
 
यसैबीच, भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतमा देखाएको भन्दै विभिन्न संघसंस्थाले आज हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेका छन् । 
 
राष्ट्रिय जनसरोकार मञ्च मकवानपुर, नागरिक सरोकार समिति, मकवानपुर जागरण अभियान नेपाल, राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ३, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रलगायतले विरोधजुलुस निकाल्नुका साथै विरोधसभा आयोजना गरेका थिए । भारतको उक्त कदमको यहाँका विद्यार्थीले पनि विरोध जनाएका छन् । 
 
अनेरास्ववियुले विरोध प्रदर्शन गरेको थियो । विद्यार्थीले ‘गो ब्याक इण्डिया’  नारा लगाउँदै नगरपरिक्रमा गरेका थिए ।