मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

नेपालको एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री


काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी नेपालकै भएको बताएका छन् । 
 
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा आजदेखि आयोजित राष्ट्रनिर्माण महामहोत्सवमा उनले मुलुकको एक इञ्च पनि सीमा मिच्न नदिइने बताएका छन् । 
 
भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने जानकारी आफूले सञ्चारमाध्यमबाटै थाहा पाएको उल्लेख गर्दै उनले भने, “कालापानी हाम्रै हो, यदि भारतको नक्सामा नेपाली भूमि राखिएको हो भने त्यसलाई कूटनीतिक पहलबाट सुल्झाइने छ । मित्रता आफ्नो ठाउँमा होला तर एक इञ्च पनि सीमा मिच्न दिइने छैन ।” 
 
मन्त्री ज्ञवालीले वर्षौंदेखि कुराकानी भइरहेको पञ्चेश्वर परियोजनाको काम पनि अगाडि बढाइने सहमति भइरहेको बताए । उनले भने, “पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।” भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि भारत सहमति नजिक रहेको पनि उनले जानकारी गराए । 
 
बैतडीमा पुल निर्माणको माग गर्दै ३७ दिनसम्म रिले अनशनसमेत बसेको कुरा थाहा पाएको बताउँदै उनले भारत सहमति गर्न तयार रहेको बताए । उनले भने, “भारतका विदेशमन्त्री एस जयशकंरसँग प्रत्यक्ष भेटघाट गरिसकेका छौँ, कूटनीतिक पहलमा छौँ ।” 
 
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतद्वारा हालै प्रकाशित भनिएको नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् । 
 
उनले आज विज्ञप्ति जारी गर्दै अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।  
 
‘‘नेपालको पश्चिमोत्तर सिमाना सुगौलीसन्धिले नै निर्धारण गरिसकेको छ । त्यो सिमाना चलाउने कसैलाई पनि अधिकार छैन’’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘ नेपालको सिमाना स्पष्टतः महाकाली नदीबाट निर्धारित भर्इआएको छ । महाकाली नदी भनेको लिम्पियाधुराबाट निस्केको कालीनदी (कुटी याङ्दी) हो । त्यसपूर्वका नापी, गुञ्जी र लिपुलेकलगायत भूभाग नेपाली भूभाग हुन् ।’’ 
 
भारतले सार्वजनिक गरेको भनिएको नक्शामा नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक आफ्नो भूमि राखी सार्वजनिक गरेपछि त्यसको विराध हुँदै आएको छ ।
 
नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन
 
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने स्पष्ट पारेका छन् । 
 
धनगढीस्थित आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिनुपर्ने माग गरेको थियो ।
 
ज्ञापनपत्र बुझ्दै उनले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिए । 
 
मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको उल्लेख गरे । उनले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि संघीय सरकारसँग आग्रह गरिरहेको उनले बताए । 
 
युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।