मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कालापानी र लिपुलेकबारे देउवाले गरे राजदूत पुरीसँग टेलिफोन संवाद

कालापानी र लिपुलेकबारे देउवाले गरे राजदूत पुरीसँग टेलिफोन संवाद


काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरेका छन् । 
 
संवादमा सभापति देउवाले नक्साप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 
 
कांग्रेसले विज्ञप्तिमार्फत कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा प्रष्ट रहेको उल्लेख गर्दै नेपालको कुनै पनि भूमिमाथि हुने कुनै पनि ढङ्गको अतिक्रमण अस्वीकार्य हुने जनाएको छ । 
 
भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा सोही दिनै प्रवक्ता शर्माले ट्विटमार्फत पार्टीको औपचारिक धारणा सार्वजनिक गरेका थिए । 
 
यस्तो महत्वपूर्ण प्रश्नमा दल विशेषको मतभन्दा माथि उठेर देशको साझा मत एवं त्यस्तो मतको प्रतिनिधित्व गरेर कूटनीतिक माध्यमद्वारा हल खोज्न सरकार समर्थ हुनुपर्ने कांग्रेसको दृष्टिकोण रहेको उनले बताए । 
 
नेविसंघको आपत्ति
 
यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । 
 
नेविसंघले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसंघले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । 
 
कार्यक्रममा नेविसंघका नेता दीपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताए ।
 
नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता सान शिवाकोटीले भारत सरकारले नेपाली भूमिमाथि अतिक्रमण गरेर नेपाल–भारत सम्बन्धलाई बिथोल्न खोजेको आरोप लगाए ।
 
विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेविसंघका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो ।