मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुटबन्दीरहित पार्टी निर्माण गर्छौं : प्रचण्ड

गुटबन्दीरहित पार्टी निर्माण गर्छौं : प्रचण्ड


तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । 
 
गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै पार्टी सदस्यलाई माक्र्सवादी विचारमा प्रशिक्षण दिने र त्यहीअनुसार पार्टी सदस्य जिम्मेवार बने यो समस्या समाधान हुने उनको भनाइ छ ।
 
नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौँ र अब हामीले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ हामी लाग्छौँ ।” 
 
उनले यो कार्यमा केही चुनौती भए पनि यसरी अघि बढेमा कम्युनिष्टको भविष्य सुरक्षित रहने बताए ।
 
पार्टीको सिद्धान्त समाजवादउन्मुख जनताको जनवाद रहेकाले अहिले पार्टीको सिद्धान्तका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अध्यक्ष दाहालले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औँ शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मुख जनताको जनवाद बनाएको स्पष्ट पारे । 
 
सोही कार्यक्रममा नेकपाका प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्नसक्नु नै सक्षम नेतृत्व भएको बताए । 
 
उनले आलोचना गरेमा आतिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैँ कमजोर हुने भन्दै यसमा सजक रहनुपर्ने बताए । उनले पार्टी एकता चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताए । 
 
त्यस अवसरमा नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्ती र जिल्ला अध्यक्ष टीकाराम खड्काले पार्टी एकीकरणको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।
 
कार्यक्रममा जिल्लाका प्रदेशसभा तथा प्रतिनिधिका सांसदसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।