मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह


काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
 
उनले सोमबार बिहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउँदै नआत्तिन आग्रह गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे । 
 
सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवम् कांग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुगेका थिए । 
 
अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो ।