मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान

सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान


काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । 
 
विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालिममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । 
 
कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरिद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।  
 
सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् । 
 
त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ । मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।