मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान स्वीकार गरेर हिंसा त्यागे विप्लवसँग वार्ता : सञ्चारमन्त्री

संविधान स्वीकार गरेर हिंसा त्यागे विप्लवसँग वार्ता : सञ्चारमन्त्री


काठमाडौँ । संविधानलाई स्वीकार गर्दै हिंसात्मक गतिविधि त्यागे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग सरकारले वार्ता गर्न सक्ने जनाएको छ । 
 
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधानले राजनीतिक, आर्थिक, सामाजिकलगायत अधिकारको सुनिश्चित गरेको भन्दै उक्त समूहलाई संविधानलाई आत्मसात् गरी हिंसा छोडेर वार्तामा आउन आग्रह गरे । 
 
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “हामी स्पष्टरूपमा भन्छौँ,  ‘संविधान मान हिंसा छोड, पूरै खेल खत्तम’ सर्त त्यही माने भइगो नि अरु सर्तै चाहिँदैन, वक्तव्य जारी गरेर यसैगरी हामीले ‘हिंसा छोड्यौँ शान्ति रोज्यौँ’ भने पुग्छ ।”
 
चन्द समूहले पछिल्लो समय केही सर्त सरकारले मानेको खण्डमा वार्तामा आउने संकेत गरेको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले सरकारको धारणा स्पष्ट पारेका हुन् । 
 
“अहिलेको संविधानले दिएको सबैखाले अधिकारको ‘फ्रेमवर्क’भित्र आएर हिंसा छोड्छौँ भनेपछि न त प्रतिबन्ध लगाउनैपर्छ, न त पक्राउ र रिहा नै गर्नुपर्छ । जनतालाई दुःख दिने, विकास र अग्रगतिको बाटोलाई अवरोध पु¥याउने कार्य समग्रमा यो एक प्रकारको राष्ट्रघाती कदम हो । हिंसा नेपाली समाजका निम्ति अस्वीकार्य छ”, उनले भने । 
 
एक प्रसंगमा सञ्चारमन्त्री बाँस्कोटाले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको भन्दै गल्ती गर्ने कसैलाई पनि कानूनी उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । उनले भने, “सुशासन कायम, कानूनको पालना, न्याय स्थापित गर्न तथा सामाजिक मूल्यपद्धत्तिको रक्षा गर्न र त्यसलाई थप मर्यादित र व्यवस्थित गर्न सरकार लागिपरेको छ ।”
 
¥यापर गायक भिटेन भनिने समीर घिसिङको पक्राउका सन्दर्भमा एक सञ्चारकर्मीले राखेको जिज्ञासामा सञ्चारमन्त्री बाँस्कोटाले कलाकार र पत्रकार समाजको जिम्मेवार पहरेदार मात्र नभई सभ्य समाज निर्माणको महत्वपूर्ण माध्यम पनि भएकाले कलाकारको प्रस्तुति र मिडियाले प्रयोग गर्ने भाषा सभ्य र मर्यादित हुनुपर्नेमा जोड दिए ।
 
उनले भने, “नेपालको आफ्नै मौलिकतालाई पनि नबिर्सौँ, शब्दहरुको सापटी वा शब्दहरु ‘कम्युनिकेसन’को माध्यम पनि हुन् र देशको संस्कृतिको परिचय पनि हुन् । अहिलेको  समाज जंगली त हैन जसले जहाँ जे बोले पनि हुने, जे लेखे पनि हुने, जहाँसम्म पक्राउ परेका कलाकार भिटेन, ‘थापा’ लगायतको कुरा छ, भोलि अरु पनि पर्लान् जो जसका भए पनि सभ्य समाजका निम्ति पाच्य प्रस्तुति हुनुपर्छ, कालाकारिता समाजको ऐना हो । दिदीभाइ, बहिनी, आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस् अनुहार लाजले रातोपिरो हुन्छ कि हुँदैन ।”