राजनीति / समाज

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा : प्रचण्ड

127 पटक पढिएको

22nd Oct 2019, Tuesday | २०७६ कार्तिक ५, मंगलवार ०७:४५
फिदिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।
 
“चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा पत्रकारसँग कुराकानी गर्दै उनले भने, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।”  
 
अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पु¥याउने घटना भएको उल्लेख गरे । 
 
सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले हिजोमात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुंग्याउने विषयमा समझादारी भएको जानकारी दिए । 
 
अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । 
 
फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताए । यस सम्बन्धमा प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उनको भनाइ छ । उनले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताए । 
 
अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रित हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पु¥याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गरे । 
नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल फिदिम आएका हुन् ।