मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नकारात्मक खालका गीत–संगीत गाए र उत्पादन गरे कारबाही

नकारात्मक खालका गीत–संगीत गाए र उत्पादन गरे कारबाही


काठमाडौँ । राष्ट्रिय सांस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशासित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । 
 
वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
 
मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयवधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित दबाबमूलक माग राखेर पत्राचार नगर्न भनेको छ । 
 
लागूपदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालनमा ल्याएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा  जारी विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीत–सङ्गीत तथा श्रव्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्री वितरण नगर्न नगराउन अनुरोध गर्दछौँ ।” 
 
सो गतिविधि गरेमा प्रचलित कानून अनुसार कारवाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यमपञ्चक तिहारको समयमा यात्रुहरुको सहज आवागमनका लागि र सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले मातहतका निकायलाई २४सै घन्टा परिचालन गरिएको जनाएको छ । 
 
जिल्लागत रुपमा चाडवाड केन्द्रित विशेष सुरक्षा योजना बनाइ लागू गरिसकिएको भन्दै मन्त्रालयले उक्त कार्यमा यातायात व्यवसायी, सञ्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्वअन्तरर्गत आ–आफ्नो तर्फबाट सेवा पु¥याउन आग्रह गरेको छ ।
प्रज्वलनशील पदार्थ प्रयोग र उत्पादनमा कडाइ
 
गृह मन्त्रालयले प्रज्वलनशील पदार्थ प्रयोग, आयात तथा उत्पादनमा पूर्ण प्रतिबन्ध लगाएको जनाउँदै यस्ता गतिविधि गरे कारवाही हुने जनाएको छ ।
 
दिपावली मनाउने क्रममा भूइँचम्पा, पटाका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरीद, बिक्रीवितरण नगर्न र नगराउनसमेत मन्त्रालयले आग्रह गरेको छ । कसैले यस्तो गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
 
कुनै गुनासो वा कानून विपरीतको कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै मन्त्रालयले अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको उल्लेख गरेको छ । ठगी गर्ने, कानून मिच्ने, लागुऔषधको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्रीजस्ता गतिविधि गरेको पाइएमा कानूनअनुसार कारवाही हुनेसमेत मन्त्रालयले जनाएको छ ।