मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी

जापान विकासको प्रमुख साझेदारः राष्ट्रपति भण्डारी


टोकियो । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छन् । 
 
राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा जापानले सघाएको उल्लेख गरिन् । उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त  गरिन् ।
 
राष्ट्रपति भण्डारीले नेपाल र जापानबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन् । 
 
जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गरिन् । 
 
राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएकाप्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरिन् । 
 
राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताएन् । 
 
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उनले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाइन् । 
 
राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने  र काठमाडौँ–नारिता सीधा उडान चाँडै हुने विश्वास व्यक्त गरिन् । उनले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पु¥याएको योगदानका लागि धन्यवाद दिइन् । 
साठी हजार जापानीले नेपाल भ्रमण गर्ने
 
कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए। तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुन् । 
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान  गराउने लक्ष्य रहेको जानकारी दिए । रासस