मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकै सबैभन्दा उचाइमा गल्फ प्रतियोगिता

विश्वकै सबैभन्दा उचाइमा गल्फ प्रतियोगिता


सोलु, सगरमाथा । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एनसेल बाह्रखरी गल्फ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा भएको छ । 
 
सगरमाथा क्षेत्रको कोङ्दे री ४,२५० मिटरमा भएको सो प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । यस्तै, ३,८८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको थियो । 
 
प्रतिकूल मौसमका बीच पनि कोङ्दे रीमा ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरेका थिए भने बाँकी आठ गल्फरले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए । बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ नै हो ।
 
आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भने जारी थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो ।
 
प्रतियोगिताको नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उदघाटन गर्ने कार्यक्रम तय भए पनि खराब मौसमका कारण हुन सकेन । 
 
कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए । 
 
उनले विश्वकै उचाइमा गरिएको यस कार्यक्रमप्रति आयोजकलाई बधाई दिँदै एनसेलले आफ्ना ग्राहकको सपना साकार पार्न मद्दत गर्ने जिकिर गरे । 
 
कार्यक्रमपछि नेपालका एकमात्र अर्बपति व्यवसायी विनोद चौधरीले बाह्रखरीले गरेको यस कार्यक्रमले रेकर्ड ब्रेक गरेकोमा खुसी व्यक्त गरे । उनले नेपाल र गल्फको प्रचारप्रसारका लागि पनि यो कार्यक्रमले टेवा पुगेको विश्वास व्यक्त गरे ।
 
व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए ।
 
प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौँको गोकर्ण सफारी रिसोर्टमा हुनेछ । जहाँ १७ होल खेलाइने छ । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिए । 
 
अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । ‘एनसेल प्रिजेन्ट्स बाह्रखरी एभरेस्ट गल्फ २०१९’ प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भिजिट नेपाल वर्ष सन् २०२० को सहकार्यमा गरिएको हो ।
 
प्रतियोगिताको मुख्य प्रायोजक एनसेल रहेको छ भने भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज पार्टनर रहेका छन् भने ग्लोबल आईएमई बैंक प्रतियोगिताको बैंकिङ पार्टनर तथा टाटा मोटर्स भेहिकल तथा होल–ईन–वान पार्टनर रहेका छन् । 
 
प्रतियोगिताको पहिलो समूहमा प्रतिष्पर्धा गरेकी रेखा घिमिरेले पनि बाह्रखरी गल्फले आफ्नो लागि जीवनभर भुल्न नसकिने अवसर प्रदान गरेको बताइन् । त्यस्तै प्रतियोगिताकी अर्काे खेलाडी आरती राणाले कोङ्देमा गल्फ खेल्दा एउटा नयाँ खालको उर्जा आएको प्रतिक्रिया दिएकी छन् । (बाह्रखरीको सहयोगमा ।)