मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार रेशम विरहीको सफल शल्यक्रिया

पत्रकार रेशम विरहीको सफल शल्यक्रिया


चितवन । केही समययता क्यान्सर रोगका कारण बिरामी परेका अग्रज पत्रकार रेशम विरहीको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । अस्पतालका चिकित्सक डा विनय ठाकुरका अनुसार उनको ठूलो आन्द्राका दुई ठाउँमा शल्यक्रिया गरिएको हो ।
 
मलद्वार र त्यसको १० सेन्टिमिटर माथि सिगमोइट क्लोनमा शल्यक्रिया गरी त्यहाँको ट्युमर हटाइएको ठाकुरले बताए । मिर्गाैलालाई असर पर्नसक्ने र दिसापिसाब पाइपमार्फत गर्नुपर्ने खतरा रहेको भए पनि शल्यक्रियापछि ती दुवै समस्या हल भएको चिकित्सकले जनाएका छन् । ठाकुरका अनुसार अर्को आन्द्रालाई मलद्वारमा जोडेर पूर्ववत् अवस्थामा दिसापिसाब गर्न सक्ने गरी शल्यक्रिया गरिएको हो । बिहीबार शल्यक्रिया गरिएका विरहीले राम्रोसँग बोलचाल गर्न सकेको परिवारले जनाएको छ । 
 
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पताल र क्यान्सर सेवा समाजबाट आवश्यक सहयोग विरहीलाई पु¥याइएको बताए । शल्यक्रियापछि विरहीको बाँकी केमो दिनुपर्ने हुन्छ । यसअघि पाँच साइकल केमो दिइसकिएको छ । रेडियोथेरापी गर्नुपर्ने  हुनसक्ने चिकित्सकले जनाएका छन् । विरहीको उपचारका लागि पत्रकार, साहित्यकार, स्थानीय तह र समाजसेवीले आर्थिक सहयोग गरेका छन् । 
 
पाँच दशकदेखि पत्रकारिता र साहित्य क्षेत्रमा क्रियाशील विरही चितवन, काठमाडौँ र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा काम गरिसकेको छन् । उनका नौ वटा कृति प्रकाशित भइसकेका छन् । ६६ वर्षीय विरहीले विसं २०२८ मा मातृभूमि पत्रिकाबाट पत्रकारिता सुरु गरेका हुन् । प्रतिध्वनि, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक, भरतपुर मासिक पत्रिकामा सम्पादनको भूमिका गरिसकेका छन् । 
 
उनी नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि सम्पादक हुन् भने यहाँको चितवन पोष्टसहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसकेका छन् । उनको विसं २०३६ मा पहिलो कृति मुलाको बोक्रा कवितासङ्ग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी विसं २०७४ मा प्रकाशित भएको छ ।