मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाली कांग्रेससँग आगामी दिनमा सहकार्य हुन सक्छ : प्रचण्ड

नेपाली कांग्रेससँग आगामी दिनमा सहकार्य हुन सक्छ : प्रचण्ड


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आगामी दिनमा सहकार्य हुन सक्ने संकेत गरेका छन् । उनले राजनीतिमा असम्भव भन्ने कुरा केही पनि नरहेको बताए ।
 
राजनीतिले कोल्टो फेरेमा असम्भव केही नहुने उल्लेख गर्दै दाहालले भने ‘राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । राजनीतिले कोल्टो फे¥यो भने फेरि पनि नेपाली कांग्रेससँग सहकार्य हुन सक्छ ।’ 
 
तत्कालीन माओवादीको जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियाको स्मरण गर्दै उनले शान्ति प्रक्रियाको श्रेय स्व गिरिजाप्रसाद कोइरालालाई दिए ।
 
‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको छ,’ उनले भने, ‘हेर्दै जाऊँ राजनीतिले कसरी कोल्टे फेर्छ ।’
 
दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारूढ पार्टी र कांग्रेसबीच कस्तो सहकार्य हुन्छ ? भन्ने जिज्ञासामा दाहालले भने ‘अहिले दुई तिहाइको कुरा नगरौं ।’ 
 
उनले त्यतिबेला लिएका संकल्प र प्रतिबद्धताप्रति दृढ रहने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको प्रमुख दायित्व रहेको बताए ।
 
उनले कांग्रेसको निम्तो मान्न आउँदा सहयात्रीकोमा आएकोजस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुसी लागेको बताए । उनले कांग्रेसको मनोबल बढेको बताए । विगतका प्रतिबद्धताप्रति दृढ रहन यस्ता चियापानले अझै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । 
 
सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले दिएको ‘कांग्रेससँग सहकार्य हुन सक्ने’ अभिव्यक्तिलाई लक्षित गर्दै पत्रकारहरूले राखेको जिज्ञासामा कांग्रेस सभापति शेरबहादुर देउवाले भने यसका बारेमा आफूसँग कुनै कुरा नभएको प्रतिक्रिया दिए ।
 
‘उहाँसँग कुरा भएको छैन मेरो,’ उनले भने । 
 
देउवासँग ४५ वर्ष पुरानो सम्बन्ध : प्रधानमन्त्री ओली
 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् । कांग्रेसले आइतबार आयोजना गरेको ‘शुभकामना आदनप्रदान तथा चियापान समारोह’ मा सहभागी भएका प्रधानमन्त्री ओलीले चाडपर्वमा आयोजना हुने कार्यक्रमले सम्बन्ध अझै राम्रो बनाउने बताए ।
 
‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो । हामी सँगै जेल बसेका हौं, लोकतन्त्रका लागि सँगै लडेका हौं । रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, रामशरण महतसँग पनि पुरानै सम्बन्ध हो । यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ,’ उनले भने ।
 
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि कांग्रेस नेताहरूसँगै लडेको स्मरण गरेपछि पत्रकारले सोधे, ‘४५ वर्ष लोकतन्त्रका लागि सँगै भयौं भन्नुभयो । त्यही कांग्रेसले तपाईंको लोकतन्त्रप्रतिको निष्ठाप्रति बारम्बार प्रश्न उठाइरहेको छ नि ? भन्ने जवाफमा उनले कांग्रेससँग कुनै तिक्तता नरहेको र सम्बन्धमा धूलो उडाउने काम नगरौं भन्दै पन्छिए ।
 
‘अहिले शुभकामना आदनप्रदानका बेला धूलो लगाउने काम नगरौं,’ उनले भने ।