विचार / ब्लग

एनआरएनए सम्मेलनमा अस्तव्यस्त सहभागिता

527 पटक पढिएको

- रामचन्द्र भट्ट

13th Oct 2019, Sunday | २०७६ आस्विन २६, आईतवार २१:२६

 

दुई वर्ष अघि काठमाडौंमा भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनमा अमेरिकाको सहभागिता संख्यात्मक रुपमा बलियो थियो । तर संस्थागत रुपमा त्यति भद्रगोल र अस्तव्यस्त शायद त्यस अघिका कुनै वर्ष पनि भएको थिएन ।

त्यही भद्रगोलले गर्दा अमेरिका क्षेत्रले स्वभाविक रुपमा प्राप्त गर्ने क्षेत्रीय संयोजक र उपसंयोजक बाहेक केही हात लागेन । सन् २०१७ अक्टोबर १४ देखि १७ सम्म भएको आठौँ विश्व सम्मेलनमा अमेरिकाबाट प्रतिनिधि सहभागिताको विवाद सम्मेलनस्थलमा पुगेर पनि भयो । यसको भित्री कारण अमेरिकाबाट सहभागीहरुको दम्भ, तयारी बिना उम्मेदवारका रुपमा प्रस्तुत हुनु र अरु देशबाट सहभागीहरु प्रति सामान्य शिष्टाचार समेत जनाउन नसक्नु रहेको चर्चा थियो ।

सम्मेलनको क्रममा अमेरिकाबाट गएका प्रतिनिधिका आधिकारिकता, वैधानिकताका विषयमा विवाद भयो । सहभागीको दर्ता क्रममै समस्या देखियो । सचिवालयमा एकथरि नाम पुगेको छ, अर्काथरि पनि प्रतिनिधि हुँ भन्दै लाइन लागेका थिए । सम्मेलनकै क्रममा हात हालाहालको अवस्था भएको सहभागीहरुले बताएका थिए । अरु त अरु दर्ताका लागि बसेका कर्मचारीहरुले समेत अमेरिकाबाट कस्ता प्रतिनिधि आएछन् भनेर ओठ लेब्राएको दृश्यलाई देख्ने र वर्णन गर्नेहरु प्रशस्तै छन् ।

हरेक मानिसले हरेक घटनाबाट पाठ सिक्छन् । पाठ सिकेर गल्तीलाई दोहोर्याउँदैन् । अघिल्लो काममा भन्दा पछिल्लो काममा परिपक्वता ल्याउँछन् । यसपटक एनआरएनए अमेरिकाले विगतबाट पाठ सिकेर सुधार गर्नेछ भन्ने आशा र अपेक्षा धेरैको थियो ।

तर एनआरएनए अमेरिकाको हकमा पुरानो उखानलाई सम्झनुपर्ने हुन्छ । भनाई छ–‘कुकुरको पुच्छर बाह्रवर्ष ढुङ्ग्रामा राखेपनि जस्ताको तस्तै’ भनेझैँ एनआरएन अमेरिकामा भने कहिल्यै नसुध्रिने संकेत देखिएको छ ।

यसपटक नेपालमा एनआरएनएको नवौँ विश्व सम्मेलनको तामझाम सुरु भैसकेको छ । यही सम्मेलनका लागि भनेरै अमेरिकाबाट तीनसयको हाराहारीमा नेपाल पुगिसकेका छन् । तर आधिकारिक को हो भन्ने बारेमा यो आलेख तयार पार्दासम्म टुंगो नलागेको नेपाल पुगेकाहरुले जानकारी दिएका छन् ।

सम्मेलन भोलीबाट काठमाडौंको हायात रिजेन्सी होटलमा हुँदैछ । अक्टोबर १७ सम्म हुने सम्मेलनले यसपटक नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ । अध्यक्षका लागि लामो समयदेखि जर्मनीमा बसेर व्यबसाय गर्दै आएका कुमार पन्त र बेलायतमा बस्दै आएका कुल आचार्यबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

विगतको कमि कमजोरीलाई यस पटक पाठका रुपमा लिएर एनआरएनए अमेरिका अघि बढ्नेमा धेरैको आशा थियो । विशेषगरि इन्जिनियर सुनिल साह अध्यक्षमा निर्वाचित भएर आएपछि एनआरएए अमेरिकाको छवी सुधार हुने, प्रजातान्त्रिक संस्कार र पद्धती बस्नेमा पनि अमेरिकामा रहेका एनआरएएका सदस्यहरु ढुक्क थिए । प्रजातान्त्रिक परिवारभित्र पैदा भएका साहले प्रतिनिधि छनौटमा पनि प्रजातान्त्रिक व्यबहार देखाउनुहुनेछ भन्ने अपेक्षाले धुलोमात्र चाटेन कि उहाँ प्रतिको विश्वास पनि टुट्यो ।

दुःखसाथ प्रश्न गर्नुपर्छ–यतिखेर एनआरएन अमेरिकामा उहाँ अध्यक्ष हो कि छायाँ अध्यक्ष हो ? डा. केशव पौडलको छायाँ अध्यक्षका रुपमा साहले आफ्नो छवी बनाउनु भएको छ । यो पद्धती संस्थाको लागि गलत त हुँदै हो उहाँ स्वयम्का लागि पनि आगामी दिनमा फलामको चिउरा चपाउनु सरह हुने निश्चित छ । किनकी ड्यालसबाट भूमि छाडेको एक घण्टापछिमात्र प्रतिनिधिको तेस्रो सूचि प्रकाशित हुनुले उहाँमा जवाफदेहितालाई पुरा गर्ने क्षमता नभएको भनेर कार्यसमितिकै पदाधिकारीले आरोप लगाएका छन् । सचिव अमृतबाबु कट्टेल लगायत कार्यसमितिका बहुमत सदस्यले सूचि प्रति विमति जनाउनुले अवश्य पनि एनआरएनए अमेरिका सही ट्रयाकमा छैन ।

एनआरएनएको नवौँ सम्मेलनमा अमेरिकाबाट सहभागी हुनेहरु भनेको अमेरिकामा आफ्नो क्षेत्रमा स्थापित, अमेरिकामा रहेका नेपाली समुदायमा परिचित, अमेरिका र नेपालमा रहेका समुदायका लागि आफ्नो विज्ञता दिनसक्ने खुबीवाल, अझै भन्नुपर्दा अमेरिकी संस्कार र पद्धती सिकेका व्यक्तिहरु हुनुपर्थ्यो । तेस्रो सूचिसम्म हेर्दा मैले मुस्किलले १० प्रतिशत व्यक्तिमात्र उल्लेखित मापदण्डमा परेका व्यक्तिहरु छन् ।

गत एनआरएनएको चुनावदेखि केही उम्मेदवारहरु मसँग नमज्जासँग भड्किएका छन् । उहाँहरुले मसँग भोट माग्नुभयो । मैले भोट दिँदा अपनाएको तीनवटा मापदण्ड बताए । भोट दिँदा मैले बनाएको मापदण्डहरु यस्ता थिए । पहिलो, चुनावमा उम्मेदवार हुनेहरु आर्थिक रुपमा सक्षम हुनुपर्ने । आर्थिक रुपले कमजोर र आम्दानीको दिगो स्रोत नभएका व्यक्तिहरु एनआरएनमा लाग्दा संस्थागत रुपमै अप्ठेरो पर्नसक्छ । आजको भोलीनै अमेरिकाको एक राज्यबाट अर्कोमा पुग्नका लागि संस्थाले टिकट, खान बस्ने होटल खर्च व्यहोर्न सक्दैन । त्यस्तो अवस्थामा आर्थिक रुपले सक्षम मात्र एनआरएनमा जानुपर्छ भन्ने मेरो मान्यता रहिआएको छ ।

दोस्रो, संस्थालाई दिनसक्ने बौद्धिक खुबी, आफ्नो क्षेत्रमा विशिष्टता हाँसिल गरेको हुनुपर्ने । जुन विशिष्ठताबाट अमेरिकामा रहेका नेपाली र नेपालमा रहेका नेपालीले समेत फाइदा उठाउनसक्ने व्यक्ति हुनुपर्ने ।

मेरो तेस्रो मापदण्ड थियो–एनआरएनएको नेतृत्वमा आउन चाहनेसँग समय पनि हुनुपर्नेै । बैठकमा सहभागी हुनका लागि समय निकाल्न नसक्ने, कहिँ जानुपर्दा व्यबसाय चलाउने व्यक्ति नभएको वहाना बनाउने, जागिरबाट छुट्टी नमिलेको गुनासो गर्ने व्यक्तिहरु एनआरएनको नेतृत्व तहमा आउन खोज्नु जायज होइन भन्ने मेरो मापदण्ड थियो । त्यही अनुसार मैले मतदान गरेँ । केहीले जिते, केही पराजित भए । मेरो मापदण्डलाइ लिएर केही भड्किए । उनीहरू भड्किए पनि मेरो जीवनमा कुनै असर पर्नेवाला छैन । त्यसैले मलाइ कुनै चिन्ता र चासो पनि छैन ती भड्किएकोमा ।

एनआरएनएको विश्व सम्मेलनमा अमेरिकाबाट छनौट भएर जाने प्रतिनिधिहरु भनेका जिल्लाबाट छनौट भएर नेविसंघ वा अखिलको सम्मेलनमा सहभागी जस्तो अवश्य पनि होइनन् । मैले माथिनै उल्लेख गरिसकेँ । कमसेकम अमेरिकाको इज्जत राख्नसक्ने, एनआरएनलाई केही नयाँ भिजन दिनसक्ने, बौद्धिक रुपमा पनि गुदी भएको, अमेरिकाको नेपाली समुदायलाई केही योगदान दिएको, समुदायमा स्थापित, प्रतिष्ठित व्यक्तिहरु हुनुपथ्र्यो । जो एनआरएनको गतिविधिमा सधैं चासो राख्ने, सकृय हुने पनि हुन जरुरी थियो ।

तर प्रतिनिधि छनौटमा यस्तो गाईजात्रा देखियो कि चुनावमा गरेको गुन तिर्ने माध्यमका रुपमा यसलाई बनाइयो । अमेरिकामा जवरजस्ती खुलेका अवैधानिक संस्थाका पदाधिकारीदेखि लिएर नेपाली समुदायमा कहिल्यै नदेखिएका अनुहारलाई प्रतिनिधि बनाएर गुन तिर्न खोजिएको छ । वर्षौदेखि एनआरएनएलाई पहिचान दिएर हिँडेका व्यक्तिहरुलाई किनारा लगाइएको छ ।

एनआरएनए भनेको जनसम्पर्क समिति, प्रवासी मञ्च, नेविसंघ, तरुण दल, मधेशी एसोसिएसनले हिस्सा खोज्ने थलो होइन । यो प्लाटफर्म भनेको अमेरिका र नेपालमा रहेका नेपाली समुदायमा स्थापित, समुदायलाई बौद्धिक, आर्थिक रुपले योगदान गर्नसक्ने हैसियत बोकेका, नेपालमा लगानी गर्नसक्ने क्षमता भएका व्यक्तिहरुले भरिनुपर्ने थियो । जसरी अमेरिकाले संसारका कुनै पनि देश, सभा सम्मेलनमा सहभागी हुँदा बाँकी विश्वलाई तान्नसक्छ, ठीक त्यसैगरि एनआरएनएको सम्मेलनमा अमेरिकाबाट हुने सहभागी गर्विलो मत राख्नसक्ने, आफ्नो बाटोमा हिँडाउने नेतृत्व गर्नसक्ने हुनुपर्छ । तर सम्मेलनका लागि छानिएका तीनवटा सूचि हेर्दा १० प्रतिशतमा पनि त्यो ल्याकत छैन ।

बौद्धिक क्षमता भन्दा पनि जब राजनीतिक आस्था र आवद्धतालाई प्रमुखता बनाएर सहभागी गराइन्छ, उम्मेदवार खडा गरिन्छ, भोट मागिन्छ त्यसले एनआरएनए जस्ता संस्थाहरुलाई कमजोर बनाउने निश्चित छ । अझै हास्यास्पद विषय त के देखियो भने जसले तल्लो निकायमा रहँदा आफ्नो उत्तरदायित्व वहन गरेर, संस्थालाई निकम्मा बनायो उही व्यक्तिहरुको पक्षमा अमेरिकामा बौद्धिक भनेर चिनिएकाहरु समेत लागेको छन् ।

एनआरएन भन्ने संस्था राजनीतिक पार्टीले उम्मेदवारी दिने, प्यानल बनाउने, पार्टीले इण्डोर्स गर्ने ठाउँ हुँदै होइन । संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घलेले राजनीतिक दल र तिनका भातृसंस्थालाई उचालेर नेतृत्व हात पारेका थिएनन् । सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध राख्न उहाँहरु सफल हुनुभयो । जव यो संस्थामा राजनीतिक दलसँगको आवद्धतालाई प्रमुखता ठानिन्छ, भोट दिँदा त्यसैलाई आधार बनाइन्छ त्यसपछि यसको महत्व सकिन्छ । किनकी यसले आर्जन गरेको सम्पत्ति भनेकै विदेशमा रहेका सबै नेपालीहरुको साझा संस्था भन्ने हो । जव यो विश्वास टुंगिन्छ, त्यसपछि संस्था निश्चय पनि कमजोर हुन्छ । अमेरिकाको एनआरएन कमजोर हुनुको प्रमुख कारण खोतल्न अन्त जानुनै पर्दैन । यही सेरोफेरोले कमजोर भएको हो, वर्षेनी सदस्य घटेका हुन् ।

सम्मेलनमा प्रत्यक्ष सहभागी हुन नसकेपनि आशा छ–नेतृत्वगणले संस्थाको मर्यादा बढाउने मामिलामा अवश्य कञ्जुस्र्याई गर्नेछैन । एउटा गल्तीको ढाकछोप गर्न अरु दर्जनौ गल्ती गर्ने भन्दा गल्तीलाई सुधार गर्नु बुद्धिमानी हुनेछ । प्रतिनिधि छनौटमा जुन खालको दम्भ, अहंकार देखियो, जस्ता खालका व्यक्तिहरु छनौटमा परे त्यसले अमेरिकाको एनआरएनएको ओज निकै कमजोर भएको छ । पटक पटक यस्ता विवाद आउनु, पटक पटक आइसिसीमै विवाद पुग्नुले अमेरिकी एनआरएनए लफडावाजहरुको संस्था भन्ने छाप परिसकेको छ । यसतर्फ अझै ध्यान दिनु त कता हो कता,चिन्ता जनाउनु त कता हो कता उम्मेदवारी घोषणा गर्ने, मसँग फलानो कमिटीमा रहेर राजनीति गर्नुभएको थियो भनेर बडो गर्वसाथ परिचय दिनुले अबका दिनमा यो संस्था राजनीतिक दलको भातृसंस्थाका रुपमा परिचय नबनोस् । सबैले चिन्ता गर्नुपर्ने र चासो दिनुपर्ने यही अनि यस्तैमा हो ।