मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बम काण्डमा सांसद मोहम्मद अफताब आलम पक्राउ

बम काण्डमा सांसद मोहम्मद अफताब आलम पक्राउ


रौतहट । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । 
 
प्रहरीका अनुसार २०६४ चैत २७ गते राति अर्थात् हालको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटसम्बन्धी घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 
 
संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गरेको अवस्थामा बम बिस्फोट हुँदा केही मानिसको मृत्यु हुनुका साथै २३ जना घाइते भएका थिए । प्रमाण नष्ट गर्नका लागि घाइते भएका भनिएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनी प्रहरीको खोजीमा परेका थिए । 
 
२०६५ असार ३० गते महान्यायाधिवक्ताको कार्यालयमार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।
 
यस्तै, २०६९ जेठ १४ तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चलाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुनः सर्वोच्चमा निवदेन दिएका थिए ।
 
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले आलम पक्राउ परेको पुष्टि गरेका छन् । एसपी खत्रीले सर्वोच्चको आदेशअनुसार सोमबार म्याद थपका लागि अदालतमा उपस्थित गराएर मुद्दा चलाइने बताएका छन् । आलम कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुन् ।