मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा नेपाली समुदायको दशैं भोज

ह्युस्टनमा नेपाली समुदायको दशैं भोज


ह्युस्टन (टेक्सस)- प्रवासमा चाडपर्वहरु प्राय सामुहिक रुपमा मनाउने गरिन्छ। नेपाली समुदायले आफूलाई पाएक पर्ने दिन सकेसम्म धेरै नेपालीहरु एकै ठाउँमा जम्मा भएर शुभकामना साटा-साट गर्ने र सामुहिक भोज गर्ने परम्परा रहँदै आएको छ। यसै क्रममा ह्युस्टनका नेपाली समुदायले पनि हिजो अक्टुवर ५ मा सामुहिक दशैं भोज तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। सहभागीहरु एकआपसमा भलाकुसारी र शुभकामना साटासाट गर्दै सामुहिक रात्रीभोजमा सरिक भएका थिए। नेपालमा घटस्थापना देखि नै सबैतिर दशैंको माहौल देखिने भएपनि प्रवासमा भने सामुहिक रुपमा आयोजना हुने जमघटहरु नै नेपाली धार्मिक एवं साॅस्कृतिक पर्वहरुको स्वरुप हुने गरेको छ। 
 
दशैं भोजका अवसरमा स्थानीय कलाकारहरुले  मनोरन्जनात्मक नेपाली गीत तथा नृत्य सहितको साँस्कृतिक प्रस्तुति दिएका थिए। सो अवसरमा कलाकारहरु काव्या नेपाल, सचि शर्मा, पूजा अर्याल, सुम्निमा गौतम, राधा ढकाल, समिता शर्मा, कृति सापकोटा, सुजु गुरुंग, जनक थापा, लगाएतले आ-आफ्ना प्रस्तुति दिएका थिए। कार्यक्रममा साना भाईहरु सौर्य पोखरेली र आशिस पोखरेल दाजुभाईले दशैं धुन (मालश्री) बजाएर साँस्कृतिक कार्यक्रमको शुरुवात गरेका थिए। 
 
नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) को आयोजनामा भएको दशैं भोज तथा शुभकामना कार्यक्रममा उपस्थित करीब २५० जति नेपाली समुदायका व्यक्तिहरु सहभागी भएको आयोजकहरुले जानकारी गराएका छन्। एनएएचका उपाध्यक्ष द्रोण गौतम र सदस्य नयना अमात्यद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा एनएएचका अध्यक्ष डा. विष्णु नेपालले दशैं भोजमा उपस्थित नेपाली समुदायलाई दशैंको शुभकामना सन्देश दिंदै आफूले गतसाल दशैंमा कार्यभार संहाल्दा गरेको ‘तीन सि’ अर्थात -कम्यूनिकेशन’, ‘कनेक्शन’ र ‘कोअपरेशन’ को रणनीति अनुरुप सामुहिक नेतृत्वमा एनएएचलाई अगाडि बढाउने संकल्प दोहय्राए। एनएएच ह्युस्टनमा बस्ने सबै नेपालीहरुको साझा चौतारी भएकोले सबै ह्युस्टनवासी नेपालीहरुलाई एनएएचमा सहभागी हुन अध्यक्ष नेपालले आव्हान गरेका थिए। हिजोको रात्रीभोजमा सहभागीहरु मध्येबाटै १७ परिवारका सदस्यहरुले एनएएचको नयाॅ सदस्यता लिएको कार्यक्रम संचालक द्रोण गौतमले जानकारी गराएका थिए।
 
एनएएचको विधान संशोधन: 
एनएएचका संस्थापक अध्यक्ष डा. राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्ष ज्योति घिमिरे, सल्लाहकार तारा बराल र कार्यसमिति सदस्यहरु डा. कौशल झा र सुजन पण्डित रहेको पाॅच सदस्यीय विधान संशोधन समितिले कार्यसमितिको परामर्शमा तयार पारेको परिमार्जित  विधान हिजोको साधारण सभाबाट पारित भएको छ। एनएएचका सचिव बिजय बोखिमले परिमार्जित विधानका दफाहरु पढेर सहभागी सदस्यहरुलाई आफ्नो मत प्रकट गर्न अनुरोध गरेका थिए। उपस्थित सदस्यहरुले परिमार्जित विधानलाई  सर्वसम्मतिले अनुमोदन गरेकाले संशोधित विधान कार्यान्वयन भएको सचिव बोखिमले घोषणा गरेका थिए। यसैगरी विधान संशोधन समितिका संयोजक डा. राजेन्द्र श्रेष्ठले समितिमा रहेर सहयोग पुय्राएकामा सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए।
 
पर्यटन दूत जगदीश काफ्लेलाई स्वागत:
नेपाल सरकार, नेपाल पर्यटन बोर्डद्वारा हालै पर्यटनदूतमा नियुक्त ह्युस्टन टेक्ससका हस्पिट्याली व्यवसायी जगदीश काफ्लेलाई हिजो नेपाली समुदायका तर्फबाट स्वागत गरिएको थियो। नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार र स्थानीय स्तरमा आवश्यक समन्वय बिस्तार गर्न मद्दत पुग्ने भन्दै काफ्लेलाई दुई बर्षका लागि जनसम्पर्क प्रतिनिधीमा नियुक्त गरेको हो। 
 
स्थानीय अमेरिकी तथा नेपाली संघ-संस्थाहरुसंग समन्वय गरेर नेपाल भ्रमण बर्ष २०२० सफल पार्न अधिकतम प्रयास गर्ने योजना अनुरुप स्थानीय नेपाली समुदायका अगुवाहरुलाई आ-आफ्नो स्थानबाट नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सहयोग पु्य्राउन पनि पर्यटन दूत काफ्लेले आग्रह गरेका छन्। 
 
एनएचयूको दशैं पिक्निक :
नेपाली भाषा, संस्कृति सहित नेपाली सम्पदाको संरक्षण र प्रवर्द्धनको लक्ष्य सहित ह्युस्टनका नेपाली समुदायका युवाहरुले शुरु गरेको संस्था नेप्लिज हेरिटेज यूनियन- एनएचयू ( नेपाली सम्पदा संघ) ले पनि हिजैका दिन ह्युस्टनस्थित मेमोरियल पार्कमा एक सामुहिक दशैं पिकनिक आयोजना गरेको थियो। ह्युस्टनका सबै नेपालीहरुका लागि खुल्ला गरिएको दशैं पिकनिकमा करीब १५० जति नेपालीहरुको सहभागित रहेको एनएचयूका अध्यक्ष बाबुराम बस्यालले हिमालय खबरलाई जानकारी गराएका छन्। सबै सहभागीहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको दशैं पिकनिकमा नेपाली गीत/संगीतका साथमा सहभागीहरुले दशैं मनाएको आयोजकहरुले जानकारी गराएका छन्।