मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल भ्रमण वर्षलाई लक्षित गरी नारायणी नदीमा जलयात्रा

नेपाल भ्रमण वर्षलाई लक्षित गरी नारायणी नदीमा जलयात्रा


नवलपरासी । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ । 
 
चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता सुरु गरिएको हो । 
 
आयुष्मा मोटरबोट कम्पनी प्रालिले सञ्चालन गरेको यस जलयात्रामा नियमित दुई वटा मोटरबोट सञ्चालन हुने कम्पनीका अध्यक्ष विजयचन्द्र अधिकारीले बताए । सुरुआती अवस्थामा दुई वटा मोटरबोट सञ्चालन गरिएको उल्लेख गर्दै उनले दुई महिनाभित्र एउटा ‘स्मल क्रुज’ समेत थपिने जानकारी दिए । 
 
सात महिनाअघि नेपाल सरकारबाट मोटरबोट सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले १४ सिट र १० सिट मोटर बोटबाट यात्रा सुरु गराएको हो । आउँदो वर्षसम्म रु तीन करोडदेखि रु पाँच करोडसम्मको लगानी गर्ने बताउँदै अध्यक्ष अधिकारीले दुई महिनाभित्र ४० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने बताए । 
 
दृश्यावलोकनका लागि लक्षित गर्दै दुई तलाको ‘स्मल क्रुज’ सञ्चालन गरिने बताउँदै अधिकारीले सो ‘क्रुजमा लक्जरी सिट’ र माथि ‘ओपन चियर सिट’ राखिने जानकारी दिए । 
 
कम्पनीका उपाध्यक्ष एवं व्यवस्थापक गणेशबहादुर थापाका अनुसार नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न मोटरबोट सञ्चालन गरिएको हो ।
 
“नारायणी, कोशी, कर्णालीजस्ता नेपालको ठूला नदीमा जलयात्रा सम्भव छ भनेर हामीले मोटरबोट सञ्चालन गरेका हौँ”, थापाले भने, “यस जलयात्राले नेपाल भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप मद्दत पुग्छ ।” 
 
सरकारले पानी जहाज सञ्चालन गर्ने नीति ल्याएको अवस्थामा आफूहरुले आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रामार्फत रमाइलो प्रदान गर्न मोटरबोट सञ्चालन गरेको थापाले बताए । 
 
मोटरबोटबाट चितवनको जलवीरे झरना, ऐतिहासिक धार्मिक तीर्थस्थल देवघाट धाम, गैँडाकोटको मौलाकालिकासहित रमणीयस्थल, नारायणगढ बजार, शिवघाटजस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ । 
 
नारायणी र त्रिशूली नदीमा शुरु भएको जलयात्राको दूरी बढाउनका लागि पहल भइरहेको आयोजकले जनाएको छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङबाट चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने गोलाघाटसम्मको जलयात्राको अनुमति लिनका लागि संघीय सरकारसँग कुराकानी अगाडि बढाइएको थापाले बताए । 
 
हाल निर्धारण गरिएको ४५.५ किलोमिटरको दूरीमा जलयात्रा गर्नका लागि प्रतिव्यक्ति रु तीन हजार ५०० तोकिएको छ । जलयात्राका लागि तिरिएको शुल्कमा एक छाक खाजा, एक छाक खाना तथा एक रात होटलमा बास बस्ने व्यवस्था गरिएको कम्पनीका मार्केटिङ प्रमुख समीर श्रेष्ठले बताए । 
 
जलयात्रा गर्न चाहने जोडीका लागि टिकट शुल्कमा १० प्रतिशत छुट प्रदान गरिने श्रेष्ठले बताए । दुई घन्टाको प्याकेज बनाएर दृश्यावलोकन गर्दै पर्यटकलाई जलयात्रा गराइने श्रेष्ठको भनाइ छ ।
 
आन्तरिक पर्यटकका लागि रु तीन हजार ५०० तोकिएको भएपनि बाह्य पर्यटकका लागि छुट्टै शुल्क निर्धारण गरिने उनको भनाइ छ । 
 
जलयात्रामा त्रिशूलीतर्फ नदीको बहाव केही उच्च भएकाले केही स्थानमा उद्धारका लागि कायक बोट राखिएको श्रेष्ठले बताए । मोटरबोटको उद्घाटन गर्दै प्रदेशसभा सदस्य घनश्याम दाहालले सो जलयात्रालाई त्रिवेणीधामसम्म पु¥याउनुपर्ने बताए । 
 
“त्रिवेणीसम्म मोटरबोट सञ्चालनका लागि थुप्रै बाधा रहेका छन्”, दाहालले भने, “यस्ता बाधा हटाउँदै समृद्धिको यात्रामा अगाडि बढ्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले सहयोग गर्नुपर्छ ।” 
 
जल यातायातलाई त्रिवेणी धामसम्म पु¥याउन सकेको खण्डमा ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रममा पर्यटक भित्र्याउन सकिने उनको भनाइ थियो । (तस्बिर : टेकराज पोखरेल)