विचार / ब्लग

जिउँदै नमरून रोशनी शाहीहरु

339 पटक पढिएको

- बिटु केसी

हिमालय खबर | 4th Oct 2019, Friday | २०७६ आस्विन १७, शुक्रबार १२:२१
यतिखेर नेपालको सिङ्गो राज्यसत्ता एउटी निरीह नारी रोशनी शाहीको विरुध्दमा छ | तसर्थ दुईशब्द नबोली रहन मनले मानेन | 
 
आफू लगातार शोसित हुनुको पराकाष्ट पछि एउटा साहसिक कदम चालेकी थिइन रोशनी शाहीले | उनको त्यही साहसले गर्दा नेपालको उच्च स्तरको सभामुख पदको मुखौटो जनता सामु नाँगियो | नियोजित अवस्था बाहेक अति नै नभए आफ्नो इज्जत दाउमा राखेर पुरुषलाई पोल्दै कुनै पनि महिला मीडियाको सामु यसरी आउन सक्दैनन | 
 
यस अर्थमा रोशनीको हिम्मतलाई दाद दिनै पर्छ | हुन त उनले बोली नफेरेको भए हुन्थ्यो | तर उनीमाथिको राजनैतिक शक्तिको दवाव हामी जस्ता सामान्य मान्छेको आँकलन भन्दा धेरै परको कुरा हुन सक्छ | 
 
समाजमा धेरैले उनलाई आज झुठी , बिरामी र बहुलाई भनेर चिनेको छ  | चरित्रहीन आइमाईको आक्षेपसँगै सामाजिक सञ्जालमा गाली बेइज्जतीको लर्को देखेर उनले आफूलाई कसरी संतुलित गरेकी होलिन | निरीह भएर कति दुःखद परिस्थिति भोगी रहेकी होलिन रोशनी शाही | 
 
तर उनको त्यो विष्फोट अगाडिका कथा व्यथा के होला बुझ्ने प्रयास गरेका छैनौं हामीले | यो घटनासँग जोडिने उनका अनेक घटनाका शृंखलालाई केलाउने जमर्को पनि गरेनौं हामीले | ( पढ्नुहोस कान्तिपुरमा बिनु सुवेदीले लेख्नुभएको  " महरा काण्ड - रोशनीले नबताएको कथा | "
 
यो आलेख लेख्दासम्म राज्य र महिला हितका संयन्त्रले रोशनीको जिउ ज्यानलाई यथोचित सुरक्षा दिएको कतै पढ्न सुन्नमा आएको छैन | लेखक बिनु सुवेदीले रोशनी बस्ने घरको गल्ली पछि सडकमा दुई प्रहरीले पहरा दिएपनि घर भित्र नै उनी असुरक्षित रहेको बताएकी छीन | महिला संस्थाहरु खोई कता छन ? अनि नेकपाका महिला नेत्रीहरु सायद मौन ब्रतमा छन ? कस्तो मानसिक अवस्थासँग जुधि रहेकी होलिन उनी यतिखेर | 
 
यस्तो विषम परिस्थितिमा उनको हत्या नहुन सक्ला भनेर भन्न सकिन्छ ? हत्या गरेर आत्महत्या गरेको भन्ने समाचार फैलाऊन सक्दैनन भनेर ठोकुवा गर्न सक्ने स्थिति छ ? वा मानसिक सन्तुलन गुमाएर आत्महत्या नै गर्न पनि के बेर ! 
 
यथेष्ट प्रमाण हुँदा हुँदै पनि दोषी फुक्का छ | त्यसै उखान बनेको रहनेछ - " ठूलालाई चैन , सानालाई ऐन " उसलाई समाउने तागत कोसंग छ ? 
 
रोशनीका पति माओवादी कार्यकर्ता चित्रजंग शाहीले आफ्नो पुरुषत्व देखाई हॉले | मिलापत्रमै सम्बन्ध विच्छेदको प्रक्रिया शुरू भएको खबर मीडियाले छापेको छ | जतिबेला लोग्नेको साथको आवश्यकता थियो रोशनीलाई उसैले लत्याएको छ | यो भन्दा ठूलो विडम्बना के होला र अब एउटी पत्नीको लागि ?
 
पत्रकार अमित ढकालले सेतोपाटीमा प्रकाशित आफ्नो आलेखमा उल्लेख गरे अनुसार महरासँग रोशनीको सम्बन्ध पुरानो थियो | महराबाट पहिलेदेखि नै पीडित रहेको उनको पुराना फेसबुक स्टाटसहरुले बताएको छ | पतिको जानकारी र सहमतिमै यो सम्बन्ध रहेको थियो भन्ने जो कसैलाई बुझ्न गार्हो हुन्न | सायद नखुलेको पाटो हुन सक्छ - लोग्नेबाट पनि त पीडित थिइन होली ऊनी | यति नै बेला हतारिएर रोशनीलाई सहमतिमै डिभोर्स गराउन चाहने लोग्नेको नौटंकी पनि जग जाहेर भै सकेको छ | 
 
यहॉंनिर बुझ्नु पर्ने कुरा यो हो कि , पुरुषहरुको जंजालबाट कति शोषित भैरहिन , अझै भइरहेकी छीन उनी | 
 
यी , यस्ता घटनाले देखाएको छ - महिलाको अवस्था आज पनि नेपालमा कति नाजुक छ | 
 
एउटा घटना यो बाहिर आयो सबैलाई थाहा भयो | केही बाहेक राजनीतिक पावरको आडमा भित्रभित्र यस्ता सम्बन्धहरु कति मौलाई रहेकै होलान | यस्ता कति महिला आज यौन शोषणको झ्यालखानामा कैद होलान !
 
यो काण्डमा विविध प्रमाणको आधारमा महरा दोषी हुन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ | लंगडो सरकार अब कानो पनि भएको छ | हो , बलात्कार भए नभएको चाहीं  अनुसन्धान भए थाहा हुने कुरा न हो | 
 
सभामुख पदबाट राजीनामा दिए पनि महरा अझै देशको गरिमामय सांसद पदमा आसीन छन | सरकार विरोध हैन , कार्वाही होइन , वचाउको पक्षमा देखिन्छ | लाजमर्दो कुरा ! भोली पुन महरा सभामुख पदमै बहाली भए भने हामीले आश्चर्य मानि रहनु पर्दैन |
 
जनताको आक्रोशहरु एकातिर छ तर सरकारले कानमा तेल हालेको छ | सुधार्न सक्थ्यो सरकारले आफैलाई , गजबको मौका थियो जनताको विश्वास जित्न सक्ने पनि | तर सत्ताको उन्माद गजबको हुने रहेछ !  अहँ टसमस गर्दैन | 
 
निर्मला बलत्कार हत्या काण्डमा सरकारको औकात अवगत भएकै हो | शालिक राम पुडासैनी घटना , गुठी विधेयक , डा गोविन्द केसी प्रकरण यस्ता दर्जनौं घटनामा सरकार चुकी सकेको हो | 
 
यो पँक्तिकार, मुलुकदेखि धेरै टाढा विश्वको अर्को गोलार्धमा बसेर सबै हेरिरहेकी छु | सुक्ष्म रुपले खबरहरु केलाइ रहेकी छु | 
 
जुन पद्दतिले एउटी पीडित महिलाको संरक्षण गर्न सक्दैन , दुःखी र कमजोरको सहायता गर्न सक्दैन त्यसतो सरकारको आयु नलम्बियोस भन्ने मेरो कामना छ |  अब सरकारसँग भरोसा उठेको छ | हेर्दै जानुस लोकतान्त्रिक पद्दति अबलम्बन गर्ने ल्याकत सरकारमा छैन | यो सरकारले अब आएर लोकतान्त्रिक मर्यादा पालना गर्ला भन्ने झीनो आश अहँ ,मैले चाहीं राखेकी छैन | 
 
तर जसरी पनि रोशनी शाहीहरु मर्नु हुँदैन , हार्नु हुँदैन | हो, यो घटनाले पक्कै पनि अरु धेरै रोशनी शाहीहरु जागरूक भएका छन | शोषणका विरुध्दमा आवाज बुलन्द गर्न तम्तयार भएका छन |