मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महरा प्रकरणले शाही जोडीको सम्बन्ध विच्छेद

महरा प्रकरणले शाही जोडीको सम्बन्ध विच्छेद


काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद् सचिवालयकी कर्मचारी रोशनी शाही र उनका श्रीमान् चित्रजंग शाहीको पारिवारिक सम्बन्धमा दरार आएको छ । 
 
सो प्रकरणपश्चात् दुवै सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेका छन् । महरा प्रकरण चरमोत्कर्षमा पुगेको बेला २८ वर्ष लामो वैवाहिक सम्बन्ध तोडिने भएको छ ।
 
यसबारे शाही दम्पतीले सम्बन्ध विच्छेद गर्ने निर्णयको पत्रमा हस्ताक्षर चित्रजंग शाहीले फेसबुकमा सार्वजनिक गरेका हुन् । 
 
शाहीले सार्वजनिक गरेको पत्रमा भनिएको छ– ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुन्टि आउँदा रहेछन् । तथापि खुसीसाथ अलग बस्ने निर्णय गरेका छौँ । कानुनी प्रक्रिया निरन्तरताका साथ ।’  
 
यस पत्रले उनीहरु सम्बन्ध विच्छेद गर्न कानुनी प्रक्रियामा रहेको स्पष्ट भएको छ । 
 
संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आइतबार राति सभामुख महराले आफूलाई बलात्कार गरेको गम्भीर आरोप लगाएकी थिइन् । ‘हाम्रा कुरा’ अनलाइनका सम्पादक अजयबाबु सिवाकोटीसँगको भिडियो अन्तर्वार्तामा शाहीले आफूमाथि महराले लामो समयदेखि दुर्व्यवहार गर्दै आएको खुलासा गरेकी थिइन् । 
 
आफू बलात्कृत भएको सम्बन्धमा प्रहरीको हटलाइन टेलिफोन १००, केही महिला सांसद् र महराकै छोरालाई मोबाइल र म्यासेजमार्फत जानकारी गराएकी थिइन् । तर, एक्कासि २४ घन्टा पनि नबित्दै उनले आफ्नो बयान फेरेर सबैलाई उल्लू बनाएकी छन् । 
 
सभामुखजस्तो उच्च पदमा आसिन व्यक्तिमाथि यौन दुर्व्यवहारजस्तो गम्भीर आरोप लगाएर सबैलाई आश्चर्यमा पारेकी उनको बोली एकाएक फेरिनुमा उनी दबाब र प्रभावमा परेको सहजै बुझ्न सकिन्छ ।
 
उनको यसखाले रवैयाले खराब नजिर स्थापित हुने खतरा रहेको कानुनविद्हरुले औँल्याइरहेका छन् । 
 
महिलाको कोठामा महरा उपस्थित भएको उनी स्वयंले स्वीकार गरिसकेको अवस्थामा घटनालाई यू टर्न गर्न अनेकखाले प्रपञ्च सार्वजनिक भइरहेको छ ।
 
मौखिक उजुरी आए पनि निवेदन नआएको भन्दै यस्तो गम्भीर घटनामा प्रहरीले मौनता साधेर अर्को बदनियत राखेको छ । 
 
घटनाको सत्थतथ्य विवरण सार्वजनिक गरी महरा दोषी भए कानुनबमोजिम कारबाही र चरित्रहत्या नै भएको भए पीडित भनिएकी महिलाउपर कारबाही गर्नुपर्ने आवाज आमसमुदायमा उठेको छ । 
 
महरा प्रकरणले श्रीमानश्रीमतीको सम्बन्ध नै विच्छेद हुन पुगेको अवस्थामा यस घटनालाई सामान्यीकरण गर्नु झनै दुर्भाग्य हुनेछ । 
 
महराको नाम काटियो 
 
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ । वेबसाइटको होमपेजमा सभामुख र उपसभामुखको फोटोसहितको प्रोफाइल लिंक रहेको थियो । अहिले त्यहाँ सभामुखको ठाउँ खाली भएको छ । 
 
बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए । पहिलो राजीनामा शर्तसहित आएको भन्दै स्वयम् नेकपाका नेताहरुले आलोचना गरेका थिए ।
 
पहिलो राजीनामा उपसभामुख तुम्बाहाङ्फेले अस्वीकृत गरेपछि महराले बुधबार पुरानै मिति राखेर अर्को राजीनामा बुझाएका थिए । संसद् सचिवालयले उनको राजीनामा संसद् सचिवालयमा टाँसिसकेको छ ।
 
महरालाई सांसदबाट समेत राजीनामा दिन नेकपाले नै दबाब दिएको छ ।