विचार / ब्लग

‘लालटिनको उज्यालोमा' पढेर

358 पटक पढिएको

- भीम कार्की

प्लानो टेक्सास | 30th Sep 2019, Monday | २०७६ आस्विन १३, सोमबार १८:३४
यो साता अनेसासको आयोजनामा डालासमा सरस्वती ज्ञवालीको संस्मरण 'लालटिनको उज्यालोमा' नामक पुस्तक चर्चा लेखिका कै उपस्थितिमा गर्ने मौका जुट्यो। संयुक्त राष्ट्रसँघको महासभामा भाग लीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगै न्युयोर्क आएकी लेखिकाको टेक्ससमा आफन्तहरुसँग भेटघाट गरी शिकागो जाने क्रममा ५५ मिनेटजति बचेको समय सदुपयोग गरि पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको हो। त्यो कार्यक्रममा मैले पनि पुस्तक बारे केही बोल्ने अवसर पाएको थिएँ, पुस्तक श्रीकृष्ण गौतम जी ले केहि दीन अघि पठाइदिनु भएको थियो। पढी सकेर गरेका केही टिपोटहरुलाई व्यवस्थित गरी यो लेख तैयार भएको हो। 
 
कथा लेखिकाकै जीवन वरपर घुम्छ । १५ वर्षे कलिलो उमेर मै विवाह गरीदिन लागेपछि उनी विद्रोह गर्छिन् र मनभरी पढने रहर बोकेर घर छोड्छिन्। पढाइ र तानसेन बसाइको क्रममा उनी देशको तत्कालीन राजनैतीक आन्दोलनसँग जोडीन पुग्छिन्, २०४१ सालमा प्रदीप ज्ञवालीसँग विवाह हुन्छ। त्यसपछिका गाउँले जीवनका कठिनाइहरु, कष्टकर राजनितीक परिस्थिति, बच्चाहरु जन्मिने र हुर्किने क्रमका आरोहअवरोह, राजनैतिक पुर्वाग्रहको कारण एकै ठाउँमा जागिर गरेर बस्न नपाइने परिस्थिति, भूमीगत राजनितीमा होमिएका श्रीमानसँग त्यति सम्पर्क नहुँदा भएको मानसिक पीडा आदिको वर्णन पुस्तकमा छ। लेखिकाले विषयबस्तु बनाएकै समयमा उही भौगोलिक क्षेत्रमा हुर्के बढेको हुनाले पनि मलाइ लेखिकाको कथासँग जोडिन गाह्रो भएन। म पुस्तकमा चुर्लुम्म डुबें। 
 
लेखिका इमान्दारपुर्वक सरल रुपमा प्रस्तुत भएकी छन्, पाठकको ध्यान कथामै तानिरहन सक्नुको मुख्य कारण त्यहि हो। सरल तरिकाले साधारण बोलीचालीको भाषामा मानविय सम्वेदनाहरु र संवेगहरु पस्किन सक्ने लेखिकाको सीपले नै नेपाली वाङ्गमयमा यो पुस्तक छुट्टै परिचय स्थापित गर्न सफल भएको हो झै लाग्यो । पुस्तक २४४ पेजको छ, पुस्तकको अन्त भाग लेखिकाले आफन्तहरुको सम्झनाको लागि समर्पित गरेकी छन् । मुख्य विषयबस्तु पेज नम्बर १९० तिर सकिन्छ। पुस्तकको अन्तमा केही सान्दर्भिक तस्विरहरु पनि समाविष्ट छन्। 
 
यो पुस्तक पढदा पाठक आफ्नो परस्थिति अनुसार अनेक थरी भावनाहरुमा बग्छ, कति ठाँउमा आँखा पनि रसाउँछन्। अत्ती भावना प्रधान छ यो पुस्तक। त्यसैले मैले यो प्रतिक्रिया ती सबै भावनाबाट आफुलाई छुट्याएर तैयार पारेको हुँ।
 
पुस्तकमा लालटिनलाई तीनवटा विम्वको रुपमा प्रयोग गरिएको छ। पहिलो, लेखिकाले सामाजिक अभियानको थालनी गर्दा दिउँसै बालेको लालटिन। दोश्रो, लेखिकाको आफूले पढनुपर्छ, समाजको भलो गर्नुपर्छ, नारी अधिकार स्थापित गर्नुपर्छ भन्ने अठोटको लालटिन र तेश्रो, लेखिकाकी पहिलो सन्तान छोरी क्षितिज, जो कठीन परीस्थितिमा शारीरिक रुपले अशक्त जन्मिइन्। क्षितिजको कथा पनि पुस्तकमा सेकेण्डरी स्टोरी लाइनको रुपमा शुरुदेखि अन्तसम्म चलेको छ। 
 
यो पुस्तक संघर्ष र अप्टीमीज्म को कथा हो। मैले त्यो संघर्ष र अप्टीमीज्मलाई तीनवटा कोणबाट हेरें।
 
पहिलो, ब्यक्तिगत– असाधारण इच्छा शक्ति भएकी लेखिका सानो उमेरमै घरबाट निस्केर हिंडेपछि उनले झेल्नु परेका चुनौतीहरु, विवाह भै सकेपछि पनि श्रीमान श्रीमति बेग्लाबेग्लै बस्नु पर्दाका पीडाहरु मार्मिक रुपमा प्रस्तुत भएका छन्। लेखिका ज्ञवालीले बाँचेको चुनौतीपुर्ण जीवन मार्फत तत्कालीन समाजको स्वास्थ्य सुविधा, रोजगारीको अवस्था र शिक्षाको अवस्था कस्तो थियो त्यो पनि छर्लङ्ग बुझ्न सकिन्छ। क्षितिजको जन्मको वरपरको परिस्थितिमा गाउँमा स्वास्थ्य उपचारको अभाव असाध्य खटकिन्छ। लेखिकाले ११ वर्षको उमेरमा १२ वटा जागिर फेरेको क्रोनोलोजी लिपिबद्ध गरेकी छन्, यस्ले तत्कालीन नेपालमा रोजागारी कुन अवस्थामा थियो भन्ने प्रष्टिन्छ। उनी शीक्षिका हुँदाको स्मरण गर्दै एउटा विधालयको कथा लेख्छिन् - एउटा कक्षा पीपलको फेदमा, एउटा पोखरीको छेउमा र अर्को चौरमा हुन्थ्यो। कति सटीक र मार्मिक विवरण। मैले स्कुल जाँदा आमाले बुनेको बाबीयोको थर्कटी र हजुरबाले बनाइदिएको काठको कालोपाटी बोकेर स्कुल जाने गरेको र दिनभरी चौतारामा बसेर पढेको झल्झली सम्झें। लालटीनको उज्यालोमा पढिरहँदा म आफ्नै उतिवेलाको परिवेशमा पुगें । यसकारण यो पुस्तकले मलाइ छोयो । शिक्षा क्षेत्रमा केही विकाश भएपनि हामीकहा अझैपनि माथि भनिएका क्षेत्रहरुमा स्थिति अझै उही छ भन्दा अन्यथा नहोला। 
 
दोश्रो, राजनैतिक– लेखिका घर छोडेर हिँड्ने बित्तिकै देशको तत्कालिन राजनैतिक आन्दोलनसँग जोडिन पुग्छिन्। यो त्यतिबेलाको कथा हो जुन बेलाका सिंगै दुइतीन पुस्तालाई नै निरंकुशताबिरुद्धको राजनितिले गुटमुट्याएको थियो। पुस्तकमा कसरी गाउँगाउँमा राजनीतिमार्फत जनअधिकार स्थापनाको अभियान चलाइयो, जनताको उत्पिडन कतिसम्म थियो, लेखिकाको भूमिका के रह्यो भन्ने कुरा वर्णित छ। त्यसैले यो पुस्तकलाइ नेपालको तत्कालिन राजनैतिक र सामाजिक इतिहासको रुपमा पनि लिन सकिन्छ।
 
तेश्रो, महिला आन्दोलन– पुरुष प्रधान समाज ४० हजार वर्षदेखि स्थापना हुन थालेको हो, अझै रोकिएको छैन। ४० हजार वर्ष अगाडी कुनै धर्म, देश, कुनै वाद इत्यादि थिएनन्। त्यसैले महिला अधिकारको कुरा कुनै देश, धर्म इत्यादिसँगमात्र सीमित छैन। लेखिकाले विषयवस्तु बनाएको समयको नेपाली समाज त अछुतो रहने कुरै भएन। लेखिकाले महिला आन्दोलनमा आवद्ध भएर खेलेको भूमिका र सँघर्ष पुस्तकमा प्रखर रुपमा आएको छ। पार्टीभित्रै पनि महिलालाई फरक व्यवहार गरेको प्रसँग पुस्तकमा उल्लेख छ । लेखिकाको यो कथा पढिरहँदा मलाइ मेरी आमाको झल्झली सम्झना भइरह्यो, उनले के के भोगिन् होला, उनले संस्मरण लेखिन् भने कस्तो बन्थ्यो होला। मेरा बैनीहरुले के भोगिरहेका छन्, मेरा छोरीहरुले के भोग्ने छन ? मनमा कुरा खेलिरहे। 
 
केही यस्ता प्रसंगहरु छन् पुस्तकमा जस्ले मन निचोरिन्छ। कतैकतै पारिजातको "शीरिषको फुल" र सार्त्रको "द एज अफ रिजन" को झझल्को दिने अस्तित्ववादी चिन्तनको छनक पनि छ पुस्तकमा, लेखिका त्यो रुपमा दीक्षित होइनन् होला तर नैसर्गिक र मौलिक रुपमा त्यो पोखिएको छ केही ठाउँमा। 
 
लेखिकाको अर्को सीप भनेको प्रश्न गर्ने हो। पुस्तक भरी प्रश्नहरुको थुप्रो छ। किन मैले पढन नपाउने भन्ने प्रश्नबाट शुरु भएका प्रश्नहरुको क्रम, किन गरीब किसानको, महिलाको, देशको स्थिति यस्तो भन्नेमा पुग्छ। किन एउटै पार्टीको नेतामा फरक व्यवहार, किन मन्त्री भएपछि नेताको व्यवहार फरक भन्नेमा पनि प्रश्न उठाएकी छन् उनले। यहीक्रममा मेरो मनमा पनि एउटा प्रश्न उठी रह्यो, त्यो स्तरको संघर्ष र इमान्दारिता पार गरेर आज यो अवस्थासम्म पुग्दा लेखिका आजको नेपाल र नेपाली राजनीतिबाट कत्तिको सन्तुष्ट र आशावादी छन् होला ?
 
कसैले यो पुस्तक बारे "आख्यानको आनन्द दिने गैह्रआख्यान" लेखेको देखें। सहमत भएँ। सल्लीपीर, उपल्लो थलो, उर्गेनको घोडा जस्ता भौगोलिक क्षेत्रलाई आधार बनाएर बुनिएका सामाजिक र राजनैतिक कथा जत्तिकै आनन्द यो पुस्तकले दिन्छ। पुस्तक मलाइ यथेस्ट वितारोत्तेजक पनि लागेको हो। 
 
कला र भाषा शील्पलाई गौण राखेर लेखिकाले आफ्ना सॅघर्ष र अप्टीमीज्मका कथा ब्यबहारिक तवर ले भावनात्मक रुपमा जस्ताको तस्तै सरल र साधारण भाषामा प्रस्तुत गरेकी छन। पुस्तकको स्ट्रेन्थ पनि त्यहि हो।