मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओलीले गरे नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा

प्रधानमन्त्री ओलीले गरे नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् । 
 
खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले सो घोषणा गरे । नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा गरेको कार्यलाई कदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो । 
साथै उनले सन् २०३० सम्म दिगो विकासको लक्ष्य पूरा गर्ने संकल्प पनि गरे । घोषणापछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहमा सहभागीले राष्ट्रिय झण्डा फहराउँदै तालीको गडगडाहटले स्वागत गरेका थिए ।
 
खुला दिसामुक्त सभ्यताको नयाँ सिँढी
 
प्रधानमन्त्री ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणाले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् । घोषणामा अन्तरनिहित विविध पक्षलाई सबलीकृत गर्दै अनवरतरूपमा जनजागरण र जनचेतना फैलाउन आवश्यक भएकामा जोड दिँदै नेपाललाई अल्पविकसितबाट माथि उठाउने, गरीबीको रेखाबाट माथि पुग्ने, निरक्षता उन्मूलन गर्ने जस्ता कामका लागि सरकार सजगताका साथ योजनाबद्ध भई अगाडि बढेको  जानकारी दिए । 
 
उनले भने, ‘हाम्रो विकास हामीले गर्नुपर्छ । सचेत प्रयास हामीले अगाडि बढाउनुपर्छ । कुनै पनि देशलाई अर्काले आएर बनाइदिएर हुँदैन, आफैँले बनाउनुपर्छ । यो घोषणाले नेपाल स्पष्टतः एक कदम अगाडि बढेको छ । नयाँ नेपाल यसै गरी बन्ने हो ।’
 
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न नेपाल हरेक दिन एक कदम अगाडिको अभियान थालिएको उल्लेख गर्दै सामाजिक र स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि नयाँ उचाइमा पुगिएको बताऐ । यस घोषणाबाट मानिस निरोग हुने, स्वास्थ्योपचारमा हुने खर्च घट्ने, संक्रमण र कम हुने, मृत्युदर कम हुने र सरदर आयु वृद्धि हुने प्रधानमन्त्रीले बताए ।
 
‘हामी जनताप्रति उत्तरदायी हुन्छौँ । जनतालाई अमानवीय अवस्थामा हुन नदिने सङ्कल्प छ । सडकमा बेसहारा रहने अवस्था चाँडै मुक्त गछौँ  । अब समग्र सफा, स्वच्छ नेपाल बनाउनुपर्छ । प्राकृतिक हिसाबले नेपाल चिटिक्क छ ।’ 
 
उनले भने, ‘सिङ्गै नेपाललाई चिटिक्क बनाउने तथा बाटा, खेत, डाँडापाखा सबै हेरिरहुँ जस्तो बनाउने दिशामा अगाडि बढेका छौँ ।‘ 
 
सो अवसरमा खानेपानीमन्त्री विना मगरले नेपाल आधारभूतरूपमा सरफाइमा अग्रसर भएको जनाउँदै पछिल्लो समयमा नेपालमा ५६ लाख चर्पी निर्माण भएको तथ्यांक प्रस्तुत गरिन् । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले उक्त घोषणा  नेपालको सफलता भएकाले अब पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । रासस