मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको घटना अनुसन्धान गर्न समिति गठन

ज्ञानेन्द्र शाहीमाथि आक्रमणको घटना अनुसन्धान गर्न समिति गठन


चितवन । भ्रष्टाचारविरोधी अभियान चलाउँदै आएका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । 
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पीडित पक्षबाट हालसम्म उजुरी परेको छैन । चौबीसघन्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको हो । 
 
‘के, कसरी घटना घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ‘, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारबाही गर्न सहज हुने उनले बताऐ । 
 
शनिबार दिउँसो भरतपुरको चौबीसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि रड, ढुंगा, इटा र भालाले आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको थियो । 
 
सो घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरू लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । 
 
प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । महानगरको उजुरी साइबर क्राइम ब्यूरोमा पठाइएको र त्यहाँबाट पनि अनुसन्धान थालिएको मल्लले जानकारी दिए ।