मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाका कार्यकर्ताद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण, गम्भीर घाइते

नेकपाका कार्यकर्ताद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण, गम्भीर घाइते


चितवन । देशमा व्याप्त भ्रष्टाचार, लुटतन्त्र र अनियमितताका विरुद्ध खरोरुपमा प्रस्तुत हुँदै आएका ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि मरणासन्न हुने गरी आक्रमण भएको छ । 
 
भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नागरिक खबरदारी कार्यक्रममा सहभागी हुन चितवन आएका शाहीलाई नेकपाका कार्यकर्ताहरुले रड, ढुंगा र इँटा प्रहार गरी आक्रमण गरेका हुन् । 
 
भरतपुर १० चौबीसकोठीस्थित होटल ग्लोबलमा पार्किङ गरी राखिएको ना ३ ख ८४५८ नम्बरको माइक्रो बसभित्र बस्दै गरेको अवस्थामा शाहीलाई नियोजितरुपमै मरणासन्न हुने गरी कुटपिट भएको हो । 
 
आक्रमण भएको केही समयपछि घटनास्थलमा पुगेको प्रहरीले शाहीलाई उद्धार गरेको थियो । कुटाइबाट शाहीसहित दुई अभियन्ता घाइते भएका छन् । 
 
आक्रमणमा परी टाउको र हातमा गम्भीर चोट लागेका शाहीलाई चितवन मेडिकल कलेज लगिएको थियो । अस्पतालले थप उपचारका लागि काठमाडौँ रेफर गरेको छ । 
 
घटनामा संलग्न भनिएका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । प्रहरीका अनुसार अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको छ । 
 
प्रहरीले शाहीलाई अज्ञात समूहले आक्रमण गरेको जनाएको छ । चौबीसकोठीमा आयोजित खबरदारी कार्यक्रममा नेकपाका कार्यकर्ताहरुले हस्तक्षेप गरेका थिए । उनीहरुले शाहीविरुद्ध चर्को नाराबाजीसमेत गरेका थिए । खबरदारी सभाको माहोल बिग्रिएपछि प्रहरीले नै दुवै समूहलाई तितरबितर पारेको थियो । 
 
‘नेपालका लागि नेपाली’ अभियानका सदस्य अनिल शाहीले शान्तिपूर्ण कार्यक्रममाथि नेकपाका कार्यकर्ता र प्रहरीले हस्तक्षेप गरेको बताएका छन् । वर्तमान कम्युनिस्ट सरकारले वाक स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरेको र शान्तिपूर्णरुपमा भ्रष्टाचार र लुटतन्त्रविरुद्ध खबरदारी गर्दा सरकार तर्सिएको भन्दै अभियन्ताहरुले आक्रोश पोखेका छन् ।