मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी गर्भवती

एक वर्षमा एकलाख महिलाको गर्भपतन, ११ प्रतिशत किशोरी गर्भवती


काठमाडौँ । सुरक्षितभन्दा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढिरहेको छ । अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिइराखेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । 
 
महाशाखाका अनुसार देशभरका एक हजार ३०० सूचीकृत गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करिब एक लाख महिलाले गर्भपतन गराएका थिए । जसमध्ये ११ प्रतिशत त किशोरी नै रहेका छन् । 
 
मातृ मृत्युको प्रमुख चार कारणमध्ये असुरक्षित गर्भपतन एक मानिन्छ । सरकारले गर्भपतन सेवा निःशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ हप्तामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा मात्र उपलब्ध रहेको छ । 
पाँचौँ सुरक्षित गर्भपतन दिवसका अवसरमा महाशाखाद्वारा आयोजित कार्यक्रममा महाशाखाका प्रमुख भीमसिंह तिंकरीले सुरक्षित गर्भपतन सेवा २०६९ सालदेखि सुरु भएपछि हालसम्म १३ लाखले सुरक्षित गर्भपतनको सेवा लिएको जानकारी दिए । उनले भने, ‘गर्भपतन सेवा निःशुल्क छ भन्ने सेवा आवश्यक भएकालाई जानकारी छैन । यसैले असुरक्षित गर्भपतन गराउनेको संख्या वृद्धि भएको होे । यसलाई रोक्न आवश्यक छ ।’ 
 
असुरक्षित गर्भपतनका कारण विभिन्न रोगका जटिलता आउने गर्दछ । असुरक्षित गर्भपतन जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा रहेको छ । जनसाङ्खिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा प्रजनन् उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्षमुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेका छन् । 
 
गत वर्ष नेपालमा करिब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात पाँच लाख ३९ हजार गर्भ अनिच्छित रहेको महाशाखा प्रमुख चिकित्सक तिंकरीले कार्यक्रममा जानकारी दिए । साठ्ठी वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत र पहुँच ५३ प्रतिशतमाथि उक्लिन सकेको छैन । 
 
कार्यक्रममा महाशाखाका चिकित्सक पुण्य पौडेलले सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार गर्न महाशाखाले प्राथमिकता दिएको जानकारी दिँदै स्थानीय तहका स्वास्थ्य संस्थालाई थप सुदृढीकरणको आवश्यकता रहेको बताए । 
 
राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक कुञ्जप्रसाद जोशीले सुरक्षित गर्भपतन सेवाका बारेमा जनचेतनाका कार्यक्रम समुदायस्तरमा सञ्चालन गर्नुपर्छ भने । राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले असुरक्षित गर्भपतनका कारण अकालमा मृत्यु नहोस् भन्नाका लागि सबैले ध्यान दिन र सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुनुपर्नेमा जोड दिए ।