राजनीति / समाज

पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउन माग

207 पटक पढिएको

21st Sep 2019, Saturday | २०७६ आस्विन ४, शनिबार ०७:००
काठमाडौँ । गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने पीडकलाई सजाय र पीडित हुनेलाई न्याय दिनुपर्ने मानव अधिकारवादीहरुले माग गरेका छन् । 
 
विश्व शान्ति दिवस तथा नेपालीको महान् पर्व शुभ विजयादशमीलगायत पर्वका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा पूर्वमन्त्री अम्बिका बस्नेतले मानवअधिकारको रक्षाका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिए । 
 
पीडकलाई आममाफी दिए मानवअधिकार उल्लङ्घनका घटना बढ्दै जाने उनको भनाइ थियो ।
 
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको ढाँचा आममाफी आयोगको शैलीमा अघि बढ्ने खतरा रहेको चर्चा गर्दै सङ्क्रमणकालीन न्यायको नमूना पीडितमैत्री हुनुपर्ने विचार व्यक्त गरे । 
 
पीडितलाई न्याय र पीडकलाई सजायको सुनिश्चितता नभए त्यसले समाजमा पार्ने प्रभावका बारेमा बेलैमा सचेत हुन उनले सबैमा आह्वान गरे । 
 
कार्यक्रममा समाज काठमाडौँ शाखाका सभापति जगन्नाथ पुडासैनी, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, समाजका जिल्ला सचिव ईश्वर पुडासैनी, रामचन्द्र भण्डारीलगायतले मानवअधिकारको सम्मान हुनुपर्नेमा जोड दिए ।
 
सो अवसरमा शान्ति समाजका गतिविधिमा विशेष सहयोग गर्ने जयराम पुडासैनी, विमल अर्याल, हरिभक्त पुडासैनी, शिवराम थापा र ईश्वरप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।