मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’


पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिएका छन् । 
 
संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राखे ।
 
संविधानको सुरक्षा गर्न सकेमात्र संविधानले जनताको सुरक्षा गर्ने बताउँदै उनले भने, “विधिमाथि मानिसले प्रहार गरेको खण्डमा राज्य असफलतातिर जान्छ, राष्ट्रमा अराजकता छायो भने राष्ट्रको अन्त्यसमेत हुनसक्छ, कानून र विधिमाथि खेलवाड गरेर कसैको प्रगति सम्भव छैन ।”
 
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको आलोचना गरिरहँदा थोरै मात्र भए पनि यसका सवल पक्षका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । संविधानले राज्य शक्तिका स्रोत जनता हुन् भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले पहिलोपटक संविधानमा सार्वभौम र राजकीय शक्ति जनतामा निहीत रहेको बताए ।
 
प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका अधिकार र पहिचानलाई स्थापित गरेकाले असमानतालाई समानतामा बदलेर मौलिक हक सुनिश्चित गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताए । उच्च अदालत पोखराका न्यायाधीश यज्ञप्रसाद बस्यालले मुलुकी संहिताको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तीनै सरकार लाग्नुपर्ने बताए ।
 
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समारोहमा सहभागीलाई स्वागत गर्दै आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको बताउँदै संविधान दिवसलाई सफल बनाउनुपर्नेमा जोड दिए। 
 
समारोहअघि शहीदचोकबाट शुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा आयोजित समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री, मन्त्रीहरु, राष्ट्रसेवक कर्मचारी, तीनवटै सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, विद्यार्थी, खेलाडी, विभिन्न जातिगत समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।