मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भरतपुर विमानस्थलको धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प

भरतपुर विमानस्थलको धावनमार्ग विस्तारका लागि सेनालाई विकल्प


 
भरतपुर । भरतपुर विमानस्थल विस्तारका क्रममा नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । 
 
महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरबार दियालो बङ्गला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका–१ आँपटारीस्थित सो बङ्गला क्षेत्रमा ७० बिघा हाराहारी जमिन रहेको दाहालले बताइन् । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ ।
 
सेनाको गण राख्दा त्यहाँको ऐतिहासिक मह¤वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जङ्गल क्षेत्र, तेस्रो विकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्रअगाडि सारिएको छ । ती जमिनको रङ्गीन नक्सासहित आवश्यक सम्पूर्ण कागजपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाइएको प्रमुख दाहालले बताइन् ।
 
योसँगै विमानस्थलसँग सम्बन्धित हालसम्म भएका बैठक, छलफल, पत्राचारलगायतका कागजपत्रसमेत सँगै बुझाइएको छ ।
 
प्रमुख दाहालले नेपाली सेनाले जुन जमिन उपयुक्त ठान्दछ सोही जमिन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकिने बताए । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीलाई डाकेर बैठक गरी निर्णय गर्न सहयोग पु¥याउने सहमति भएको थियो ।
 
हाल विमानस्थलको धावनमार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाजमात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र र कालीबहादुर गण रहेको छ । दुवै गरेर ७२ बिघा जमिन चर्चेका छन् । त्यहाँबाट गण र प्रजनन केन्द्र स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न लागिएको हो । 
 
विमानस्थलको धावनमार्ग बढाएसँगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकिने छ भने रात्रिकालीन उडानसँगै अन्य जिल्लासँग हवाइ सम्बन्ध बढाउन सकिने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए ।
 
मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरी देशका अन्य विमानस्थलसँग हवाइ सम्बन्ध विकास गर्ने बताउँदै आएका छन् । हाल भरतपुरबाट काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । रासस