राजनीति / समाज

बाँके घटनाका दोषीलाई कारबाही हुन्छ : गृहमन्त्री

142 पटक पढिएको

15th Sep 2019, Sunday | २०७६ भाद्र २९, आईतवार १४:४९
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा भएको घटनामा संलग्न दोषीमाथि अनुसन्धान भइरहेको बताएका छन् । 
 
संघीय संसद्, राष्ट्रियसभाको आजको बैठकमा बाँके घटनाबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नेकपाका कार्यकर्ताले कांग्रेसको जागरण कार्यक्रममा प्रवेश गरी बाँके जिल्ला सभापतिसहित दर्जन बढी कार्यकर्तामाथि भएको सांघातिक आक्रमणको जवाफ मागेका थिए । 
 
गृहमन्त्रीले भदौ २६ गते खजुरा गाँउपालिका–१ सीतापुरमा घटेको सो घटनालाई सरकारले गम्भीर रुपमा लिएको सदनलाई जानकारी गराएका थिए । 
 
बिहीबार खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रश सोसाइटीको भवनमा कांग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चान गरेको थियो । 
 
सो क्रममा नेकपाका केही व्यक्तिभित्र प्रवेश गरी कार्यक्रम विथोल्न खोज्दा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण हुँदा उनको देब्रे हात भाँचिएको थियो । 
 
बैठकमा सांसदहरुले  सभापति कोइरालाले प्रहरीसमक्ष किटानी जाहेरी दिँदासमेत सरकारले दोषीलाई कारबाही नगरेको र मुख्य दोषीलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गरेका थिए । 
 
गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको संसद्मा जानकारी दिए । उनले बाँके कांग्रेसले कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी नदिएको भन्दै घटनास्थलमा थप अनुसन्धान एवं शान्ति सुव्यवस्था बिग्रिन नदिन उच्च सतर्कता अपनाइएको बताए । 
 
गृहमन्त्री थापाले खजुरा घटनालाई राजनीतिक रुपमा नहेरिदिन आग्रह गरे । 
 
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले लगातार राष्ट्रियसभाको बैठक अवरुद्ध गरेपछि भदौ ३० गते सोमबार बस्ने गरी बैठक स्थगित गरिएको छ ।