मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घूस लिएको अभियोगमा खरिदारविरुद्ध मुद्दा दायर

घूस लिएको अभियोगमा खरिदारविरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमलप्रसाद पाण्डेले जग्गा नामसारी र लालपूर्जा दिने कार्यमा घूस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 
आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग रु एक लाख २० हजार घूस लिएको अभियोग लगाएको छ । खरिदार पाण्डेको मिलेमतोमा जग्गा नामसारी गरिदिने प्रयोजनार्थ घूस लिएको पाइएको छ । 
 
आयोगले खरिदार जीवनाथ र लेखापढी व्यवसायी कमलप्रसादविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 
यस्तै स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भरतप्रसाद उपाध्याय र अर्का कर्मचारी राधिकादेवी शर्माले रु छ लाख ५८ हजार ५२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । कार्यादेश नभएको र असम्बन्धित व्यक्तिलाई उनीहरुले भ्रमण भक्ता दिएको अभियोग लागेको छ । 
 
त्यस्तै आयोगले जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । फेटा गाउँपालिकाको कार्यालय बारामा रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत रु २५ हजार घुस मागेको अभियोग लागेको छ ।