मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजतन्त्र फर्काउन सम्भव छैन : देउवा

राजतन्त्र फर्काउन सम्भव छैन : देउवा


दाङ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने बताएका छन् । 
 
नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ठूलो संघर्षबाट फालिएको राजतन्त्र फेरि फर्कन्छ भन्नु गलत भएको बताए । “कुनै पनि हालतमा राजतन्त्र फर्किंदैन”, उनले भने, “यो हल्लामात्रै हो ।” 
 
एनसेल र वाइडबडीका विषयमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सभापति देउवाले भने, “एनसेलको मैले नाम पनि सुनेको छैन । वाइडबडीका विषयमा पहिलोपटक कुरा उठाउने म नै हुँ ।”  
 
अर्को फरक प्रसङ्गमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताए । “दाङमा राम्रा भवन छैनन्”, उनले भने, “मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस् ।”
 
बाँकेका काङ्ग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारवाही गर्न पनि उनले सरकारसँग माग गरे । “बाँकेमा गम्भीर खालको घटना भएको हो”, उनले भने, “यो घटनाका दोषी जो कोहीलाई पनि कारवाही गर्नुपर्छ ।” उनले बाँकेका सभापतिमाथि भएको दुव्र्यवहारको विरोध गर्दै दोषीमाथि कारवाही नगरे संसद ठप्प पार्ने चेतावनी दिए । 
 
यसैबीच, देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । 
 
दाङको तुलसीपुरस्थित बीपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उनले भने, “एकताबद्ध भएर लागेमात्र सफलता हासिल गर्न सकिन्छ, यही अभियानमा सम्पूर्ण कार्यकर्ता लाग्नुहोस् ।” उनले पार्टीलाई बलियो बनाउन सबैले एक हुनुपर्नेमा जोड दिए । 
 
उनले भने, “हिजो कसले के कमजोरी ग¥यो त्यसको पनि लेखाजोखा हुँदै गर्ला ।” उनले निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही हुने प्रष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले एकताको सुरुआत दाङबाटै गर्न पनि कार्यकर्तालाई आग्रह गरे । 
 
“यहाँ अब प्रदेश सदस्यको उपनिर्वाचन हुँदैछ, यो काङ्ग्रेसका लागि चुनौतीको विषय हो, यसमा पहिलेजस्तो घात / अन्तरघात हुने छैन”, उनले भने ।